बिर्तामोड, चैत २० । झापाको बिर्तामोडमा विश्व अटिजम सचेतना दिवस मनाइएको छ ।

बिर्तामोडको मुक्तिचोकमा प्रभातफेरि गरि १८औँ विश्व अटिजम सचेतना दिवस मनाइएको हो ।
हनुमान सेन्ट्रलबाट निकालिएको प्रभातफेरि पश्चिममा वानस्टप मल हुँदै पूर्वमा इलाका प्रहरी कार्यालय जाने बाटोबाट पुनः हुनमान सेन्ट्रलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोडका कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अटिजम कुनै रोग र अपाङ्गता नभएर एउटा अवस्था भएको बताए । पछिल्लो समय अटिजम हुने बालबालिकाको संख्या बढिरहेकाले यसको उचित संरक्षण र व्यवस्थापनमा स्थानीय सरकारले आवश्यक बजेट बिनियोजन गर्नुका साथै सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिबद्धता जनाए । अटिजम भएका बालबालिकाहरुलाई अभिभावकले स्वीकार गर्न सक्नु र माया दिनु पर्नेमा उनको जोड थियो । उनले बिर्तामोड नगरपालिकाको महेन्द्र रत्न माविमा अटिजम भएका बालबालिकाहरुलाई अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइएको बताए ।

खानपिन, आहारबिहार, जीवनशैली, बिषादी, प्रदूषण आदिका कारण अटिजम भएको हुनसक्ने बताउँदै कार्यवाहक प्रमुख संग्रौलाले यसको न्यूनीकरणमा लाग्नु पर्नेमा जोड दिए ।

महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलले आफ्नो बच्चालाई अटिजम भएको जबसम्म स्वीकार गर्न अभिभावक तयार हुँदैनन् , तबसम्म उनीहरुलाई सुधार गर्ने मौका नपाइने बताए । उनले महेन्द्ररत्न माविमा हाल २७ जना अटिजम भएका बालबालिकाहरु अध्ययन गरिरहेको जानकारी दिए । विद्यालयमा विशेष शिक्षाअन्तर्गत अटिजम भएका बालबालिकाहरुलाई अध्यापन गरिहेको बताउँदै प्रधानाध्यापक खरेलले थप भौतिक सुविधा उपलब्ध गराइदिन सरकारसँग अपिल गरे ।

न्याय र विकासका लागि सामाजिक सञ्जाल र अटिजम केयर सोसाइटी झापाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमका अध्यक्ष तथा आयोजक संस्थाका अध्यक्ष कुमार चुडालले अटिजम भएका बालबालिकाका अभिभावकहरुलाई एकीकृत गर्ने कार्य भइरहेको बताए । उनले अभिभावकहरुले अटिजमका लक्षणहरुबारे जानकारी राख्नु पर्ने र त्यस्ता लक्षण आफ्ना बालबालिकामा देखा परे सम्बन्धित निकायमा सम्पर्क गर्नुपर्ने बताए ।

अटिजमबारे जनचेतना जगाउने उद्धेश्यले आयोजित कार्यक्रममा विभिन्न नारा लेखिएका प्ले कार्ड, पोष्टर आदि बोकेर मनकामना कलेज, आदर्श स्कुल अफ होटल मेनेजमेन्टका शिक्षक तथा विद्यार्थी, करुणा फाउण्डेशनका प्रतिनिधि, किण्डर बेल प्रिस्कुल तथा आयु चाइल्ड केयर सेन्टरका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, नेकपा माओवादी केन्द्र बिर्तामोडका उपाध्यक्ष रञ्जन धमला, सामाजिक अभियन्ता विष्णु आचार्यलगायत प्रभातफेरिमा सहभागी भएका थिए ।कार्यक्रम अटिजम केयर सोसाइटी झापाका सचिव भिम बोहराले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्