झापा, चैत २० । सहकारीकर्मीहरुलाई निराश बन्न नदिन झापा जिल्ला सहकारी संघले उत्प्रेरणा भर्ने कार्य गरेको छ ।

६८ औं सहकारी दिवसमा जिल्लाभरिका सहकारीकर्मीहरुलाई बिर्तामोडमा भेला गराई संघले ‘सहकारीमा नवप्रवर्तनको प्रबद्र्धन उत्प्रेरणात्मक कार्यक्रम’ गरेको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक नारायण प्रधानले ‘सहकारीमा नवप्रवर्तनको प्रवर्धन’ विषयमा उत्प्रेरणात्मक प्रशिक्षण दिएका छन् । प्रधानले आफ्नो सहजीकरणमा आविष्कार र नवप्रवर्तनका समानता एवम् भिन्नता केलाउँदै दुर्ईवटै समानान्तर गतिमा बढ्नुपर्ने सुझाए ।
‘नयाँ नयाँ आविष्कारहरु हुन्छन् तर त्यसले समुदायलाई प्रभाव पार्न सकेन भने त्यसको केही अर्थ रहँदैन’ प्रधानले भने ‘त्यसले उपभोक्तालाई प्रभाव पारेपछि सन्तुष्ट बनाएपछि यसको सार्थकता पाउँछ ।’
नवप्रवर्तनका लागि सबैभन्दा पहिले दृष्टिकोण निर्माण गर्नुपर्ने बताउँदै उत्प्रेरक प्रधानले क्रमशः सीप र औजारहरुको बारेमा ज्ञान राख्नुपर्ने सुझाए ।
यस्तै सहकारी दिवसको थीम ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’मा आधारित रहेर अगुवा सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले आफ्नो भनाई राखेका थिए ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष उप्रेतीले भुइँमान्छेको उत्थानका लागि सहकारी अभियानले महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको भए पनि जानेर वा नजानेर भइरहेका कमजोरीहरु आजको चुनौति बनेको बताए । सहकारीलाई छिट्टै ठूलो बनाउने, योगदानभन्दा बढी फाइदा लिने चाहना राखेकै कारण सहकारी संस्थाहरु अप्ठ्यारोमा परेको उनको भनाई छ ।
कार्यक्रममा बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का महासचिव घनश्याम अधिकारीले ‘अभियानको पुनर्जागरण र सहकारीको आगामी मार्गचित्र’ विषयक प्रस्तुति प्रस्तुत गरेका थिए ।
आफ्नो प्रस्तुतिमा महासचिव अधिकारीले सहकारी अध्यादेशमार्फत संशोधित ऐन र यसले अभियानमा हुने प्रभाव, सहकारी संस्थामा सञ्चालक र लेखा समितिको सहकार्य हुन्छ कि हुँदैन ? जस्ता विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा संघमा आबद्ध सदस्य सहकारीका सञ्चालक र कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित सहकारी दिवस समारोहमा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।सहकारी संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेका थिए ।
सहकारी अभियन्ताहरु हर्क तामाङ, मिनाकुमारी ढकाल, लक्ष्मी उप्रेती, दुर्गाप्रसाद सापकोटा, केशव सापकोटा, तुलाराम न्यौपाने, चन्द्रकुमारी खड्का, प्रशिक्षक नितेश प्रधानलगायतको आतिथ्य रहेको कार्यक्रममा संघद्वारा प्रकाशित ‘सहकारीको चुनौती र आवश्यक कानून’ नामक स्मारिका विमोचन गरिएको थियो ।
नेपालमा २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्थाको स्थापना भएको दिनलाई सहकारी आन्दोलनको शुरुवात भएको दिनको रूपमा स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।देशभर अहिले झन्डै ३१ हजार सहकारी संस्था रहेको तथ्याङ्क छ ।