झापा, चैत २१ । झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले आज छापा मारेको छ ।

अवैधरुपमा कारोबार गर्दै आएका व्यवसायी अरुण साहले संचालन गरेको ज्योति कपडा पसल र एके सप्लायर्समा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको हो । भन्सार छली गरी भारतबाट सामान ल्याएको सुराकीको आधारमा राजस्व अनुसन्धान कार्यालय तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेको हो।
करिब ३ घण्टासम्म चलेको अपरेसनबाट उक्त पसलको सम्पूर्ण कागजातहरु छानबिनका लागि लगिएको छ। पसलको माथिल्लो तला राजस्व कार्यालयले सिल गरेको छ।
यसअघि गत कात्तिक महिनामा साहकै गोदामबाट ४७ लाख रुपैयाँ बराबरको राजस्व छली गरी ल्याइएका अवैध कपडा प्रहरीले बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय बनियानीको कार्यालयसंग जोडिएको गोदाममा साहले ती अवैध सामान राखेका थिए । नेपाल भारतको खुला सिमानाको फाइदा उठाउँदै तस्करहरुले अवैधरुपमा ओसार पोसार गर्ने गरेका छन् ।