झापा,चैत २४ । झापामा पहिलो पटक दमक नगरपालिकाले निजी विद्यालयहरुको वर्गीकरण गरेको छ ।

विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार निजी विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताएका छन् ।

लामो समय लगाएर विद्यालयहरुको स्थलगत निरीक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर वर्गीकरण सकिएको र सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन् । विद्यालयहरुलाई पाँच वटा वर्गमा समावेश गरिएको छ । ‘क’ देखि ‘घ’ सम्म गरी चार वटा र एक वटा ग्रेडमा नपरेका विद्यालयहरु छुट्याइएको उनले जनाए ।
८० भन्दा बढि अङ्क प्राप्त गर्नेलाई पहिलो, ६० देखि ७९ सम्म ‘ख’ वर्ग, ५० भन्दा माथिलाई ‘ग’ वर्ग र त्योभन्दा तललाई ‘घ’ वर्गमा समावेश गरिएको छ । यो झापामा नै पहिलो हो र यसलाई कार्यपालिका बैठकले पनि अनुमोदन गरिसकेको छ, भट्टराईले भने । बालमैत्री संरचनादेखि लिएर विद्यालयसँग जोडिएका सबै पक्षलाई आधार बनाइएको उनले उल्लेख गरेका छन् ।

यसैबिच पहिलो पटक विद्यालय वर्गीकरण भएर आधिकारीक रुपमा नगरपालिका सार्वजनिक नगरी सामाजिक सञ्जालमा विद्यालय वर्गीकरण भएको भनेर त्यसको लिस्ट सार्वजनिक भएपछि विवाद पनि उत्पन्न भएको छ । कम अङ्क ल्याउनेलाई ‘ख’ र त्योभन्दा बढि अङ्क ल्याउनेलाई ‘ग’ वर्गमा राखिएको भन्दै विवाद भएको हो ।

५५.५ अङ्क प्राप्त गर्ने स्कुल ‘ख’ वर्ग र ५८.२५ अङ्क प्राप्त गर्ने स्कुल ‘ग’ वर्गमा राखेको लिस्ट सार्वजनिक भएको निजी विद्यालय सञ्चालक प्रविण चाम्लिङले बताए । विद्यालय वर्गीकरण हुनु राम्रो भएको बताउँदै वर्गीकरण पारदर्शी नभएको उनको आङ्शका छ ।

नगर शिक्षा समिति संयोजक भट्टराईले आधिकारीक रुपमा वर्गीकरणको नतिजा सार्वजनिक नभएको अवस्थामा अङ्कसहित विवरण सार्वजनिक भएको विषयलाई गम्भीर रुपमा लिएको बताए । निर्णय हुनु अगावैको कच्चा प्रतिवेदन बाहिर आफूले पनि देखेको जनाउँदै यस विषयमा छानविन गरिने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्