झापा,चैत २४ । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ ।

नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो ।
पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन हुदैँछ । महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर खिजीदेम्बा गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको अध्यक्ष गम्बु शेर्पाले बताए ।
अध्यक्ष शेर्पाका अनुसार महोत्सवको अवसरमा आयोजना हुने गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटान लगायतका छ देशका र नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा पर्यटन क्षेत्रबाट गाउँपालिका सँगै जिल्ला र देशलाई नै आर्थिक रुपमा सहयोग पुग्ने भएकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगिता सहितको महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाले भने ।
‘पहिलो वर्ष नै छ देशका विदेशी र नेपालका ख्यातिप्राप्त खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सुनिश्चित भईसकेको छ । पर्यटन विकासमा जिल्लामै प्रचुर सम्भावना भएको खिजीदेम्बाले सम्भावना चुम्दै विश्व भरका पर्यटक तान्ने लक्ष्य राखेको छ,’ अध्यक्ष शेर्पाले भने । हरेक नयाँ वर्षको अवसरमा देम्बाडाँडामा गल्फ महोत्सव गर्ने नीतिगत निर्णय गरेको खिजीदेम्बाले महोत्सवका लागि यसवर्ष १० लाख बजेट विनियोजन गरेको छ ।