झापा,चैत २४ । नेपालले गर्ने खाद्य वस्तु तथा जडीबुटी परीक्षणलाई भारतले पारस्परिक मान्यता दिएको छ ।

यसअघि खाद्यवस्तुको गुणस्तर प्रमाणीकरणका लागि भारत जानुपर्ने बाध्यकारी अवस्था रहेकोमा अब अन्त्य भएको छ ।
नेपालबाट भारतमा निर्यात हुने विभिन्न खाद्यवस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले मान्यता दिएपछि अब गुणस्तर परीक्षणका लागि भारत जानुपर्ने भएको छ । यसअघि खाद्यवस्तुको गुणस्तर परीक्षण नेपालमै भए पनि गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले मान्यता दिएको थिएन ।
भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण (फुड सेफ्टी एन्ड स्ट्यान्डर्स अर्थोरिटी अफ इन्डिया–एफएसएसएआई) तथा परीक्षण र क्यालिब्रेसन प्रयोगशालाहरूका लागि राष्ट्रिय मान्यता बोर्ड (नेसनल एक्रिडिएटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याबोटोरिज–एनएबिएल) ले नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाको खाद्य समूहको परीक्षण रिपोर्टलाई हालै पारस्परिक मान्यता प्रदान गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

यो मान्यता नहुँदा नेपाली उद्यमीले चिया, कफी, अदुवा, अलैँची, मह, जुस, दुग्धजन्य पदार्थ, बोसो तथा तेल, तरकारी तथा फल, खाद्यान्न उत्पादन, पानीलगायतका पदार्थ निर्यात गर्नका लागि भारतको कोलकाता, बैङ्ग्लोर, नागपुर, मुम्बई, दिल्लीलगायतका स्थानमा जानुपर्ने अवस्था थियो । नेपालमा गुणस्तरको परीक्षण मान्यता पाए पनि नेपाली उद्यमीले सोझै भारत सामान निर्यात गर्न पाउने भएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भारतले विभिन्न प्रकारका खाद्यवस्तु तथा जडीबुटीको गुणस्तर प्रमाणीकरणको मान्यता दिएको जानकारी दिए । अब उद्यमीलाई विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाबाट गुणस्तर परीक्षण प्रमाणपत्र वितरण गरिने छ । प्रमाणपत्रका आधारमा उद्यमीले सोझै सामान निर्यात गर्न पाउने छ । “यसबाट निर्यात बढ्नुका साथै, भन्सारमा हुने झन्झट पनि हट्छ,” महानिर्देशक कर्णले भने, “उद्यमी व्यवसायीले सामान निर्यात गर्नुभन्दा दुई हप्ताअगाडि व्यावसायिक योजना पेस गर्नु पर्छ ।”

चामल, गहुँ, मकै, कोदो, चिया–कफी, मिल्क एन्ड डेरी प्रोडक्ट्स, हनि एन्ड स्विटनरर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लिमेन्ट्सको गर्ने गुणस्तरसम्बन्धी विश्लेषण परीक्षण रिपोर्टलाई भारतले मान्यता दिएको विभागले जनाएको छ । उद्योगीहरू एउटा खाद्यवस्तुको परीक्षण गराउन भारत जाँदा लामो समय र रकमसमेत खर्च हुँदै आएको थियो ।

यो सुविधा उपलब्ध भएपछि भारतमा कृषि उपज निर्यात गर्दै आएका निर्यातकर्ताले खाद्य विभागको यो प्रयोगशालाबाट गुणस्तर प्रमाणीकरण गराएको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच नम्बर प्रमाणपत्र लिएर निर्यात गर्न सहज हुने छ ।

भारतले नेपालको प्रयोगशाला एनएफएफआरएललाई ६ सय ३० प्यारामिटरसम्मको गुणस्तर विश्लेषण परीक्षण प्रमाणपत्रलाई मान्यता प्रदान गरेको हो । पहिले यो प्रयोगशालासँग खाद्य वस्तु २८४ प्यारामिटरमा परीक्षण गर्ने मात्रै क्षमता थियो । भारतको एफएसएसएआईको निर्देशन अनुसार एनएफएफआरएलले ६३० प्यारामिटरसम्मको गुणस्तर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्