झापा , चैत २४ । झापाको दमकमा गोठमा आगलागी हुँदा चौपायासहित ३ लाख बराबरको क्षति भएको छ ।

आज दिउँसो ३.१० बजे दमक नगरपालिका वडा नम्बर–४ अडियामल बस्ने भरतबहादुर खड्काको टिनको छानो भएको गाईगोठमा अचानक आगलागी भएको हो ।
आगलागीबाट गोठभित्र बाँधेर राखेको एक बर्षको गाईको बाछी जलेर मरेको छ । आगलागीबाट गोठ पूर्णरुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही गोठ छेउमा रहेको विद्योदय आधारभूत विद्यालयको २ थान स्मार्ट बोर्ड , काठको पल्ला भएको ८ थान झ्याल , ४ थान ग्रिलको झ्याल समेत जलेर नष्ट भएको छ ।
उक्त आगो दमक नगरपालिकाको दमकल, स्थानीयबासी र अस्थायी प्रहरी चौकी ताराबारीबाट खटिएको प्रहरी टोलीको सहयोगमा ३;४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।