झापा, चैत २५ । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कांग्रेस र एमाले सम्मिलित सत्ता गठबन्धनका नरेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

माओवादी र जनता समाजवादी पार्टीसहितको सत्ताइतर गठबन्धनकी रेखा इङनाम लावतीलाई ५ सय १० मतान्तरले हराउँदै अधिकारी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा ९ सय ६६ मत खसेको थियो । जसमध्ये ८ सय ९८ मत सदर भएको छ ।

अधिकारीले ७ सय ४ मत प्राप्त गर्दा इङनामले १ सय ९८ मत पाएको निर्वाचन समितिले जनाएको छ । संघको चार जना उपाध्यक्षहरुमा दिपेश गुप्ता, सूर्यकुमार मगर, शिव अधिकारी र उमानाथ अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा गणेश काफ्ले निर्वाचित भएका छन् । महासचिव पदमा भने चन्द्रप्रसाद काफ्ले निर्विरोध निर्वाचित भएका थिए ।

सदस्यहरुमा भिमबहादुर कार्की, योगराज सेढाई, निर्मल श्रेष्ठ, याम ढुङ्गाना, केशव पौडेल, भविन मोक्तान, तिलरुपा पोखरेल, देउकुमार योङहाङ, लिलानाथ खरेल, मदन कालिकोटे र नारायण दाहाल तथा महिला सदस्यमा चन्द्रकला थापा निर्वाचित भएका छन् ।

संघको निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा प्रतिस्पर्धामा थिए । उनीहरु सत्ता गठबन्धन र गठबन्धन इतरका दल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले नरेन्द्रप्रसाद अधिकारी नेतृत्वमा प्यानल बनाएका थिए भने कांग्रेस एमाले इतर माओवादी र जनता समाजवादी पार्टीसहितका दलले भने लावतीलाई अध्यक्ष पदमा अगाडि सारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्