झापा, चैत २५ । बिर्तामोड– १० स्थित मनकामना काली मन्दिर तथा सत्संग भवन समितिको आयोजनामा १२ घण्टे अष्टजाम हुने भएको छ ।

यही चैत २८ गते १२ घण्टे अखण्ड कीर्तन गरिने आयोजक मनकामना काली मन्दिर तथा सत्संग भवन समितिका अध्यक्ष धुर्बप्रसाद शिवाकोटीले बताए । उनले पहिलो चरणमा २८ गते बिहानी सत्रमा पूजापाठ,यज्ञ अनुष्ठान, होम होमादी, सन्ध्याकालीन समयमा गंगा आरती र त्यसपश्चात् १२ घण्टे अखण्ड कीर्तनको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।अध्यक्ष शिवाकोटीले कार्यक्रमका लागि रु.तीन लाख अनुमानित खर्च हुने बताउँदै सो रकम मन्दिरको कोष र दाताहरुबाट संकलन गरिने जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नबिन गट्टानी आउने भएका छन् । तीनहजार भक्तजन उपस्थित हुने आयोजक समितिले अनुमान गरेको छ । मन्दिर समितिका अध्यक्ष शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही मन्दिरका जग्गादाता डिल्लीराम पाठक,समितिका उपाध्यक्ष युवराज पराजुली, कोषाध्यक्ष सुनिता निरौला बाँस्कोटा, सहसचिव राम खनाल, सदस्य रघुनाथ पाठक, नबिन सेढाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन आयोजक समितिका सचिव मिलन आलेले गरेका थिए । २०७५ सालमा मनकामना काली मन्दिर स्थापना भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्