बिर्तामोड, चैत २६ । मेची लेखापढी व्यवसायी संघ झापाले कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएका लेखापढी व्यवसायीहरुलाई विचौलिया भनेकोमा आपत्ति जनाएको छ ।

झापा जिल्ला अदालतलगायतका सरकारी कार्यालयबाट प्रमाणपत्र प्राप्त गरी कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको भएपनि केही गलत गर्ने ब्यक्तिका कारण ‘बिचौलिया’ भनेको भन्दै संघले आपत्ति जनाएको हो ।
अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको जनाउँदै धरपकडले गम्भीर अवस्था र त्रासको वातावरण सृजना भएको जनाएको छ । संघले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयमा विगत लामो समयदेखि लेखापढी व्यवसाय गर्दै आएका लेखापढी व्यवसायीहरुमाथि भएको धरपकडप्रति गम्भीर चिन्तासमेत व्यक्त गरेको छ ।
विगत लामो समयदेखि ठगी गर्दै आएका अनाधिकृत व्यक्ति विशाल भण्डारी कार्यालयको सम्पर्कमा रहेका बेला नै पक्राउ नगर्दा हाल फरार रहेको र उनी संघको सदस्य नरहेको समेत जानकारी गराउँदै उनलाई अविलम्ब पक्राउ गर्न समेत माग गरेको छ ।
अनाधिकृत व्यक्तिले गरेको अपराधलाई लेखापढी व्यवसायीसँग जोडेर अनावश्यक दोषारोपण हुनुले मर्यादित व्यवसाय गर्दै आएका व्यवसायीमाथि आघात पुगेको संघका सचिव इश्वर सुवेदीले बताए ।
कानुनको सर्वोच्चतामा ‘दोषी नछुटोस्, निर्दोस नफसोस’ भन्ने मान्यतालाई समेत ध्यानमा राखेर निर्दोष लेखापढी व्यवसायीलाई धरपकड नगर्न र सहज रुपमा काम गर्ने वातावरण बनाइदिन अध्यक्ष युवराज निरौलाले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
केही दिनअघि प्रहरीले यातायायात ब्यवस्था कार्यालय बिर्तामोडबाट ९ जनालाई बिचौलियाको संज्ञा दिँदै पक्राउ गरी ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये दुई जना लेखापढीका सदस्य रहेको संघले जनाएको छ ।