झापा , चैत २८ । झापाका विभिन्न धर्मका धर्मगुरुहरुले बालविवाह नगराउने प्रतिवद्धता जनाएका छन् । मागीभन्दा भागी विवाहमा बालविवाह रोक्न चुनौती रहेको उनीहरुले अनुभव सुनाएका छन् ।

धार्मिक गुरुहरुसंगको एकदिने अभिमुखीककरण कार्यक्रममा उनीहरुले अहिलेसम्म बालविवाह गराउन सहयोग नगरेको बताउँदै अब पनि बालविवाह नगराउने प्रतिवद्धता जनाएका हुन् ।

धर्मअनुसार विवाह हुने भएकाले बालविवाह न्यूनीकरणमा धर्मगुरुहरुको महत्वपूर्ण भूमिका रहने भन्दै महिला जनचेतना केन्द्र मेचीनगर ६ काँकडभिट्टाले उनीहरुसंग आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । विभिन्न धर्मका धर्मगुरुहरुले बालविवाह धार्मिक मसला नभएर सामाजिक मसला भएको बताए । उनीहरुले कुनै पनि धर्मको धर्मग्रन्थमा बालविवाह गराउनु भनेर उल्लेख नभएको स्पष्ट पारेका छन् ।

शिवपाञ्चायन नवग्रह मन्दिर मेचीनगर ७ का पण्डित देवराज निरौलाले आफ्नोे मन्दिरमा विवाह गराउन आउँदा बाबुआमा , अभिभावक, होटलमा बस्ने भए होटल साहुसम्म खोजेर ल्याउन लगाएको बताए । उनले कम उमेरका युवायुवतीहरु विवाह गराउन आउँदा फिर्ता पठाएको जानकारी दिए । रजस्वला नभइकन विवाह गराउँदा पवित्र हुने कुरा धर्मशास्त्रमा कहिकतै उल्लेख नभएको उनले स्पष्ट पारे ।

त्यस्तै मधेसी समुदायका पण्डित बाह्रदशीका त्रिलोक झाले शास्त्र पल्टाएर हर्दा हिन्दु धर्मले बालविवाह गराउन नभनेको बताए । उनले विगतको तुलनामा बालविवाह कम हुँदै गएको बताउँदै बालविवाह परिमार्जन हुने धारणा राखे । धर्मगुरुभन्दा पहिला बाबुआमाले बालविवाह रोक्न भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । बौद्ध धर्मका धर्मगुरु कचनकवल १ का अविदल तामाङले आफूहरुले ‘लो’ र ‘खाम’ हेरेर मात्र विवाह गराइदिने गरेको बताए । उनले मागी विवाहमा बालविवाह हुन नदिएपनि भागी विवाहमा समस्या रहेको प्रतिक्रिया दिए ।

मुस्लिम धर्मका धर्मगुरु बाह्रदशी ५ का महमद सहजाद आलमले २० दिनअगाडि कम उमेरको युवतीसंग विवाह गर्न आउँदा आफूहरुले जन्ती भारततिर नै फर्काइदिएको जानकारी दिए । उनले शिक्षा र चेतनाको कमीका कारण बालविवाहले अझै प्रश्रय पाइरहेको धारणा राखे ।

इसाई समाज झापाका अध्यक्ष इसहक सेन्चुरीले मानिसको तीनवटा कर्ममध्ये वैवाहिक कर्म आदरणीय र सम्माननीय हुनुपर्छ भन्दै बाल अधिकार बुझेर बाबुआमाले बालविवाह गराउन नहुनेमा जोड दिए । उनले आफूहरुले बालविवाह हुन नदिएको बताउँदै बालविवाह गराउन खोज्ने अभिभावकलाई संझाई बुझाई गर्ने गरेको जानकारी दिए ।

कार्यक्रममा बाह्रदशीका पुसक ताजपुरिया , मेचीनगरका ज्ञानबहादुर मगर , कचनकवलकी राधिका आचार्य , कचनकवलका श्यामलाल गणेश , टिकालाल राजवंशी , कचनकवलका महमद अजाज हुसैन र महमद इहासनुल हकले पनि बालविवाहका बारेमा आफ्ना अनुभव सुनाएका थिए ।

महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष राधा प्रधानले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन संचारकर्मी सुष्मा राजवंशीले गरेकी थिइन् । महिला जनचेतना केन्द्रले सन् २०१९ देखि बालविवाह न्यूनीकरणका लागि काम गर्दै आएको छ । संस्थाले मेचीनगर, बाह्रदशी र कचनकवलमा सो अभियान संचालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्