झापा, चैत २८ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ४०० भन्दा बढीले सेवा लिएका छन्।


पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको ग्रामीण भेगमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट १हजार ४ सय ३४ जनाले सेवा लिएका हुन्।

सिम्रिक साकोसको आयोजना र इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नं ६ र ७ को व्यवस्थापनमा शिकारी भञ्ज्याङमा भएको स्वास्थ्य शिविरबाट जनरल मेडिसिन विभागतर्फ १५५ , मानसिक रोग विभागतर्फ १५ जना , प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा ८७ , बाल रोग विशेषज्ञ २१ , हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा १५४, नाक कान घाँटी ४४ , दन्तरोग ४३ , शल्यक्रिया परामर्शमा २० जना, आँखाको जाँच ९६ , रेडियोलोजी (भिडियो एक्सरे) ४३ जना र प्रयोगशाला ल्याब रगत पिसाब जाँचमा १०२ गरी कुल ८ सय ८३ जनाले सेवा लिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

आफ्नो मातहतको सेवाकेन्द्रका सदस्य तथा अन्य स्थानीयलाई सेवा दिइएको उनले जानकारी दिए।
सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालको पहुँचभन्दा टाढा रहेका विपन्न समुदायका नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यकारी प्रमुख बस्नेतले बताए ।

नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक बिशेषज्ञसहितको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले सामान्य सेवाका लागि अस्पताल धाउनु पर्ने बाध्यतामा रहेका स्थानीयलाई आफ्नै ठाउँमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएकोमा सिम्रिक साकोसको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।शिविरबाट आफूहरुलाई धेरै नै फाइदा पुगेको सेवा लिन आएका स्थानीयको भनाइ थियो ।

त्यस्तै संस्थाले पाँचथरको कुम्मायक गाउँपालिकामा पनि स्वास्थ्य शिविरको आयोजना गरेको थियो । गाउँपालिकाको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा ५५१ जनाले सेवा लिएका थिए । शिविरबाट जनरल मेडिसनतर्फ ७५ जना, मानसिक रोग विभाग ५ जना, प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा ४७ जना, बाल रोग विशेषज्ञ ९ जना, हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा ७७ जना, नाक, कान, घाँटी विशेषज्ञ सेवा ३५, दन्त रोग विशेषज्ञ सेवा ४० जना, शल्यक्रिया परामर्शमा १५ जना, आँखाको जाँचमा ७०, रेडियोलोजी (भिडियो एक्सरे) ६१ जना, मुटुको जाँच (इसीजी) ४१ जना र प्रयोगशाला ल्याब (रगत पिसाब जाँच) ७६ जना गरी जम्मा कुल ५ सय ५१ जनाले विशेषज्ञ सेवा लिएका थिए ।

सिम्रिक सहकारीले बचत तथा ऋणको मात्र कारोबार गर्ने नभई सदस्यको हितमा बिगतदेखि नै काम गर्दै आइरहेको बताउँदै अध्यक्ष सुवास भट्टराईले यसलाई निरन्तरता दिंदै लगिने जानकारी दिए ।

उनले आर्थिक अभावकै कारण सामान्य स्वास्थ्य परीक्षणका लागि पनि घरमै रोग पालेर बस्नु पर्ने बाध्यताका बिरामीलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताए । उनले यसअघि पनि झापाका बिभिन्न पालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्