कुमरखोद, चैत २८ । उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई झापा गाउँपालिकाले पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा मदरसा इस्लामिया रुहिमारी र कुवाडी देवी माध्यमिक विद्यालय रहेका छन् । झापा गाउँपालिकाले २०८१ सालको कक्षा ८ को वार्षिक परीक्षाको नतिजाका आधारमा शैक्षिक गुणस्तरमा सुधार गरेका सामुदायिक विद्यालय र त्यसका प्रधानाध्यापकलाई नगदसहित सम्मान गरेको हो । मदरसा इस्लामिया रुहिमारीले सामुदायिकतर्फ झापा गाउँपालिकाभरीका विद्यालयहरुलाई उछिन्दै ८३.३३ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराई प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै कुवाडी देवी माध्यमिक विद्यालयले ७३.८० प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ । दुवै उत्कृष्ट विद्यालयलाई पालिकाले नगद ५० हजार र प्रधानाध्यापकहरुलाई प्रोत्साहनस्वरुप जनही १० हजारका दरले पुरस्कार प्रदान गरी सम्मान गरेको थियो ।

अन्य सामुदायिक विद्यालयलाई हेर्दा भानुभक्त आधारभूत विद्यालयले ४८.१४ , महेन्द्र माध्यमिक विद्यालयले ४७.५, डिल्लीराज माध्यमिक विद्यालयले २८ , रामजानकी आधारभूत विद्यालय २३.०७, त्रिभुवन आधारभूत विद्यालयले २१.६६ , जनता माध्यमिक विद्यालयले १८ , जनकल्याण माध्यमिक विद्यालयले १५.१५ , सिमलवाडी आधारभूत विद्यालयले १३.७९ , सरस्वती आधारभूत विद्यालयले ७.१४ र भृकुटी आधारभूत विद्यालयले ७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।

यसैगरी निजी विद्यालयतर्फ वन्डर लाईफ एकाडेमीले ९३.३३, साउथ होराइजन अंग्रेजी विद्यालयले ९२.५९ ,सेन्ट जेभियर्स सडकवारी स्कुलले ८६.६६, गौतम वुद्ध अंग्रेजी सेकेन्डरी स्कुलले ८० , चन्द्रज्योति अंग्रेजी सेकेन्डरी स्कुलले ७७.७७, जय पाथीभरा अंग्रेजी स्कुलले ७१.६०, टाईनी टट्स सेकेन्डरी स्कुलले ६६.६६ र लोयला स्कुलले ३७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।

यो तथ्याङ्कलाई हेर्दा झापा गाउँपालिकाका सामुदायिक विद्यालयहरु निजी विद्यालयको तुलनामा निकै कमजोर छन् । गत वर्षको तुलनामा यस वर्ष सामुदायिक विद्यालयले भने शैक्षिक गुणस्तरमा केही सुधार गरेको देखिन्छ । गत वर्ष केही विद्यालयहरु निल भएका थिए ।

गत वर्षको नतिजालाई हेरेर पालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि यसै शैक्षिक सत्रदेखि उत्कृष्ट अंक ल्याई उत्तीर्ण गराउने विद्यालय र त्यसका प्रधानाध्यापकलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने नीति बनाएको झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्