मेचीनगर, चैत २८ । मेचे समाज शिवियारी आफातले आगामी बैशाख ३ गते वैशागु वथर पर्व मेचीनगरमा भव्यरुपमा मनाउने भएको छ ।

नेपाल र भारतका मेचेहरुलाई एक ठाउँमा भेला गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वैशागु वथर मनाउने तयारी गरिएको हो । मेचीनगर–११, धाइजन स्थित आफातकै भवन परिसरमा आयोजित पत्रकार सम्मेलनमा भाषा र संस्कृति संरक्षण गर्ने उद्धेश्यले वैशागु वथर पर्व भव्य गर्न लागिएको जानकारी गराइएको छ ।
मेचे समुदायलाई एकजुट गरी भाषा संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यले वैशागु वथर पर्वमा नेपालका संघीय संसदका सभामुख देवराज घिमिरे र भारत आसाम राज्यका विधायन समितिका सभामुख विश्वजित दइमारीलाई ल्याउन लागेको मेचे समाज शिवियारी आफातका केन्द्रीय अध्यक्ष विरेन मेचेले जानकारी दिए । दुवै देशका सभामुखसंगै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न समुदायको उपस्थिति रहने जनाइएको छ ।
२० लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पर्वमा विभिन्न जाति समुदायका करिव २५ सयले अवलोकन गर्ने अपेक्षा रहेको समितिका केन्द्रीय सचिव महेश मेचेले बताए ।
झापाका १५ वटा पालिकामध्ये ९ वटा पालिकामा मात्र मेचे जातिको बसोबास रहेको छ । लोपोन्मुख समुदायमा पर्ने मेचे जातिको जनसंख्या २०७८ सालको जनगणना अनुसार पाँच हजार १९३ जना रहेको केन्द्रीय सदस्य अमर मेचेले जानकारी दिए । ९ वटा पालिकामा बाह्रदशी, हल्दिबारी, झापा, कमल, कचनकवल गाउँपालिका तथा भद्रपुर, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकामा मेचे समुदायको बसोबास रहेको जनाइएको छ ।
९ वटै पालिकामा बैशागु बथर पर्वमा स्थानीय विदा दिनु पर्ने माग समेत गरेका छन् । केही दिनअघि आफातका मेचीनगर अध्यक्ष देशभक्त मेचेको नेतृत्वमा गएको टोलीले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई वैशागु वथर पर्वमा सार्वजनिक विदा दिनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो ।