झापा, चैत २८ । इलाममा माछा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

इलाम सूर्योदय नगरपालिका वडा नं १२ घर भई हाल वडा न.९ सुन्दरपानीस्थित सन्दिप पराजुलीको घरको रेखदेखको लागि बस्दै आएका राजकुमार राईकी छोरी ८ वर्षीया प्रिङतिका राईको पराजुलीकै माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।
आज दिउँसो ३.३० बजेतिर पोखरीमा डुबेर मृत अवस्थामा देखेर बालिकाकी आमा अस्मिता राईले पोखरीबाट बाहिर निकालेकी थिइन् । प्रहरी चौकी फिक्कलबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर टोली गएको जनाइएको छ ।