झापा, चैत २९ । इलाममा ट्रयाक्टर चोरी गरी लैजाँदै गर्दा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

इलाम–७ का ईश्वर राईले बाटोमा पार्किङ गरी राखेको को.१त ७३४१ नम्बरको ट्रयाक्टर बुधवार राति १०.५० बजे लिएर जाँदै गर्दा अन्दाजी ३०–३५ वर्षका व्यक्ति दुर्घटनामा परेका थिए । घाइते अबस्थामा फेला परेका ती व्यक्तिलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएकोमा उपचारका क्रमा मृत्यु भएको थियो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनले ती व्यक्तिको हुलियासहित मातहतका सबै प्रहरी कार्यालयमा परिपत्र गरिएको जानकारी दिए ।

मझौला शरीर, श्यामल बर्ण भएका मृतकले कालो पाइन्ट, कालो टी–सर्ट लगाएका छन् । ट्रयाक्टर धनी राईले विगत ४–५ महिनादेखि सो ट्रयाक्टर बाटोमा राखेका थिए । उनी आफैले सो ट्रयाक्टर चलाउने गरेका थिए । विरामी भएपछि ट्रयाक्टर थन्किएको थियो । ती व्यक्तिले ट्रयाक्टर लिएर जाँदै गर्दा टर्निङमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्