झापा,चैत ३० । पाँचथर जिल्ला अदालतले भर्चुअल माध्यमबाट मुद्दामा साक्षी बकपत्र गराउने, बयान लिने र बहस पैरवी लगायतका काम नियमित गर्न थालेको छ ।


भौतिक रुपमा उपस्थित हुन नसक्ने मुद्दाका पक्ष, साक्षी र सेवाग्राहीका लागि यो व्यवस्था गरिएको अदालतले जनाएको छ । यसरी, बयान बकपत्र र बहस पैरवी गराउँदा न्यायिक काम कारबाही सुलभ, सरल र पहुँचयोग्य हुने बताइएको छ ।
अदालतमा विचाराधीन मुद्दाका देश देशान्तरमा रहेका वादी र प्रतिवादीसँगै, बुझ्नुपर्ने पक्षको बयान, साक्षी बकपत्र र कानुन व्यवसायीको बहस गराउने, मेलमिलाप छलफल आदि काम नियमित जसो भर्चुअल माध्यमबाट गर्न थालिएको अदालतका सूचना अधिकारी गोपाल खनालले जानकारी दिए ।
‘मुख्यतः न्यायिक काम कारबाहीमा सूचना प्रविधिको प्रयोगले सेवाग्राहीलाई सुविधा त हुन्छ नै उहाँहरुको समय र खर्च पनि बचत हुन्छ, समयमै बकपत्र र बयान लिने काम सकिँदा मुद्दा किनारामा पनि तीव्रता आउँछ’, सूचना अधिकारी खनालले भने ।
भिडियो कन्फ्रेन्समार्फत बयान, बकपत्र र बहस गराउँदा भौतिक रुपमा टाढा रहेका पक्ष र सेवाग्राहीको सहजै न्यायमा पहुँच पुग्ने पनि खनालको भनाइ छ । पछिल्लो पटक पाँचथर जिल्ला अदालतले पोर्चुगल, दुबई, कतार र ओमनमा रहेका बहु विवाह मुद्दाका तीन जना पीडित महिलाको भर्चुअल माध्यमबाट बकपत्र लिएको र ती सबै महिला वैदेशिक रोजगारीमा गएका बखत घरमा उनीहरुका श्रीमान्ले दोस्रो विवाह गरेपछि पीडितका पक्षबाट परेको मुद्दामा भिडियो कन्फ्रेन्सबाटै बकपत्र गराएको छ ।

यसैगरी कानुनको विवादमा परेका बालक प्रतिवादी रहेको मुद्दामा अदालतको आदेशबाटै बाल सुधार गृह, विराटनगरमा रहेका २ जनालाई बाललाई भर्चुअल माध्यमबाटै जोडेर डाक्टरको बकपत्रसमेत गराइएको, कर्तव्य ज्यान मुद्दाका सरकार वादी भएको मुद्दाका २ जना प्रत्यक्षदर्शीको बकपत्र पनि सोही माध्यमबाट गराएको अदालतका सूचना प्रविधि प्रमुख पिताम खतिवडाले जानकारी दिए ।
यही अदालतमा विचाराधीन अंश चलन मुद्दामा कानुन व्यवसायी राखिएका वरिष्ठ अधिवक्ता खगराज कट्टेललाई इलामबाट भिडियो कन्फ्रेन्सबाटै बहस गराइएको बताइएको छ ।

यसरी अदालतको न्यायिक काम कारबाहीमा सूचना प्रविधिको प्रयोग हुँदा भौतिक रुपमा उपस्थित भएका सम्बन्धित मुद्दाका पक्ष, सरोकारवाला, साक्षी र कानुन व्यवसायीसमेतले सुन्ने र हेर्ने अवसर पाउँछन् ।

‘भर्चुअल माध्यमबाट पक्षलाई जोड्नु पूर्व सम्बन्धित व्यक्तिलाई प्रविधि प्रयोग गर्ने विधि सिकाउने, सफ्टवेयर कसरी चलाउने भनेर सिकाइन्छ, भर्चुअलमा आउने व्यक्ति सबै हिसाबले तयार भएपछि बकपत्र, बहस, बयान वा कागज गराउने जुन प्रयोजनका लागि बोलाइएको हो त्यही अनुसार गराइन्छ,’ सूचना प्रविधि प्रमुख खतिवडा भन्छन् ।
कानुनले भौतिक रुपमा उपस्थित हुन नसक्ने मुद्दाका पक्ष, साक्षी वा कानुन व्यवसायीलाई भर्चुअल माध्यमबाट बकपत्र बयान र बहस गर्ने अधिकार दिए पनि जिल्ला अदालतहरुमा यो अभ्यास विरलै मात्र भएको छ । गत असोजमा यस अदालतमा सरुवा भएर आएका न्यायाधीश कुमार मास्केको पहल र निर्देशनमा यस्तो अभ्यास सुरु गरिएको सुचना अधिकारी खनाल सुनाउँछन् ।

कोशी प्रदेशमा यसरी भर्चुअल माध्यममबाट बयान, बकपत्र र बहस पैरवी सुरु गर्ने पाँचथर जिल्ला अदालत सम्भवतः पहिलो हो । यसरी पाँचथर जिल्ला अदालतले विविध पक्षमा भर्चुअल माध्यमको अभ्यासलाई न्यायिक काम कारबाहीमा आबद्ध गरेकाले सेवा छिटो र सहज भएको सेवाग्राहीहरु बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्