एकजनाको विद्युतीय मोटरबाट र अर्कोको मोबाइल चार्ज गर्ने क्रममा ज्यान गयो
झापा , चैत ३० । करेन्ट लागेर झापा र इलाममा दुईजनाको मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कन्काई नगरपालिका वडा नंम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर बिश्वकर्मा आफ्नै घरमा पानी तान्ने बिद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
उता इलाममा पनि सोही समयमा करेन्ट लागेर अर्का एकजनाको ज्यान गएको छ । बिहान ११ बजे इलाम माई नगरपालिका ८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईले घरमा कोही नभएको अवस्थामा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । लडेर मृत अवस्थामा देखेपछि स्थानीयले दिउँसो १२ः४० बजे प्रहरी चौकी महमाईमा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालयसंग समन्वय भइरहेको जनाइएको छ ।