झापा, चैत ३० । हनुमान जयन्तीको शोभायात्राका क्रममा ढुंगामुढा भएपछि पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ ।

एसपी गौतम मिश्रले जिल्ला प्रशासन कार्यालय पर्साले आज ६ः३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको बताए ।

प्रत्येक वर्षझैं हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगन्ज घन्टाघरदेखि दक्षिणतर्फ गएर फर्किने क्रममा छपकैया–३ मा रहेको श्रीराम हल चोकनजिक अज्ञात समूहबाट ढुंगामुढा भएपछि तनाव सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगन्जमा प्रहरीले २ राउन्ड हवाई फायर र २५ राउन्ड अश्रुग्यास प्रहार गरेको खुलेको छ । 

घण्टाघरदेखि दक्षिणतर्फ वीरगन्ज-३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो । त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए ।

अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको एसपी गौतम मिश्रले बताए । सो क्रममा मिश्र र सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन स्थानीय बासिन्दा घाइते भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्