झापा, चैत ३१ । प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले प्रहरी वृत्त जनसेवा काठमाडौंको कमाण्ड सम्हालेपछि अवैध हुण्डीको कारोबार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

हुण्डी कारोबार गर्ने एक महिला करिव २१ लाखसहित पक्राउ परेको दश दिनछि अर्की महिला पनि ९ लाख रुपैयाँसहित पक्राउ परेकी छन् । आज दिउँसो अन्दाजी १२ः३० बजे काठमाण्डौ वडा नं. २२ स्थित न्युरोड इलाकामा हुण्डीको अबैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले गोरखा पालुङटार नगरपालिका वडा नं. १० वागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो ।

शंकास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा उनको साथबाट नेपाली नगद ९लाख रुपैयाँ , ६ लाख रुपैयाँको चेक र मोवाईल १ थान फेला परेको प्रहरी नायव उपरीक्षक चन्दले बताए । उनले जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी देवकोटामाथि थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिए ।

यसअघि चैत २० गते साँझ काठमाडौ महानगरपालिका वडा नं. २७ स्थित महाबौद्ध इलाकामा हुण्डीको अबैध कारोबार गरिरहेकी काठमाडौ महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने २६ वर्षीया रिक्शे वाङ्मोलाई २० लाख ९२ हजार रुपैयाँसहित पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्