झापा, बैशाख २ । अमेरिकासंगै भुटानले देश निकाला गरेका पूर्व शरणार्थीहरुको संख्या बढ्दै गएको छ ।

यसअघि अमेरिकाबाट देश निकाला भएर भुटान पुगेका १३ जना पूर्व शरणार्थीलाई भुटान सरकारले पनि देश निकाला गरेको थियो । उनीहरुमध्ये चारजना नेपाल प्रवेश गरेका थिए । अन्य ९ जनाको अबस्था अज्ञात छ ।

पछिल्लो लटमा ५ जना पूर्व शरणार्थीलाई हिजो नै भारतको सिलिगुडीसम्म ल्याएर भुटानले छाडेको छ । तीमध्ये एकजना नेपाल आइपुगेको खबर छ । तर नेपालमा उनी कहाँ लुकेर बसेका छन् भन्ने थाहा भएको छैन । फेरि आज एकजना महिलालाई अमेरिकामा डिपोर्टको लागि तयारी भइरहेको भन्ने सुनिदै छ । यसरी चैत दोस्रो सातायता अमेरिकाबाट १८ जना शरणार्थी निष्काशित भएका छन् ।

अमेरिकाले चैत दोस्रो साता देश निकाला गरेपछि भुटान पुगेका र त्यहाँबाट पुनः निष्कासित भुटानी नागरिकमध्ये चारजना दुई सातादेखि काँकडभिट्टा अध्यागमन कार्यालयको नियन्त्रणमा छन् । उनीहरूलाई भारत फिर्ता पठाउने, नेपालमै शरणार्थी शिविरमा राख्ने वा अन्य कारबाही गर्ने भन्ने विषयमा अध्यागमनकै अधिकारीहरू अन्योलमा छन् ।

भुटानले आफ्ना नागरिक स्वीकार गरेका, तर देशबाट निकाला गरेका १३ जनामध्ये चारजना नेपालमा भएपनि नौजना बेपत्ता छन् । अमेरिकी अधिकारीले पारो विमानस्थलमा बुझाएकामध्ये नेपाल आइपुगेका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङ चैत १५ देखि काँकडभिट्टा अध्यागमनको हिरासतमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्