झापा, बैशाख ३ । झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।

नेकपा एमालेको विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेशको आयोजनामा बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आगामी जेठ १, २ र ३ गते तीन दिनसम्म सो प्रदर्शनी हुने भएको हो ।
कोशी प्रदेशमा रहेका विद्यालयका सबै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि क्षेत्रमा भएको वैज्ञानिक खोज, अनुसन्धान, नवप्रवर्तन, अन्वेषण, आविष्कार, नविनतम प्रविधिको प्रयोगलगायतलाई प्रोत्साहन गर्न एवम् सो ज्ञान तथा सीपलाई आम विद्यार्थीमाझ पुर्याउने उद्देश्यले कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्न लागिएको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
प्रदर्शनीमा कोशी प्रदेशका १४ जिल्लाका सामुदायिक तथा संस्थागत गरी १४० वटा विद्यालयको सहभागिता रहने विज्ञान तथा प्रविधि बिभागका प्रमुख गणेश पोखरेलले बताए । उनले कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्ने जानकारी दिए । प्रदर्शनी प्रतियोगितात्मक हुनेछ । एक विद्यालय एक स्टल हुनेछ । सहभागी विद्यालयलाई उत्कृष्टताको आधारमा पुरस्कार तथा प्रोत्साहन पुरस्कार राखिने पोखरेलले जानकारी दिए । उनका अनुसार प्रथम पुरस्कार ४ लाख दोश्रो पुरस्कार ३ लाख , तेश्रो पुरस्कार २ लाख , सान्त्वना पुरस्कार १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै २५ वटा प्रदर्शनीलाई २५ हजार रुपैयाँका दरले प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गरिने विभाग प्रमुख पोखरेलले जानकारी दिए ।
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै राईले विज्ञान तथा प्रविधि प्रदर्शनी नितान्त नयाँ र पहिलो कार्यक्रम भएको बताए । उनले मिसन ८४ लाई लक्षित गरी पार्टीले यस्ता कार्यक्रम संचालन गरिरहेको जानकारी दिए ।