झापा,बैशाख ३ । तयारी नपुगेको भन्दै गत माघमा स्थगित भएको कोशी प्रदेश लगानी सम्मेलन बैशाख १८ र १९ गते हुने पक्का भएको छ ।

प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयका संयोजक पवनकुमार तिमल्सेनाले विराटनगरमा आज पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएका हुन् । कोशी प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि लगानी सम्मेलन विराटनगरमा हुन लागेको हो ।

’लगानी सम्मेलनमार्फत कोशी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरी उद्योगहरू स्थापनामार्फत पुँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको छ,’ उनले भने ।

लगानी सम्मेलनमा आठ वटा क्षेत्रका करिब ५४ वटा परियोजना सोकेसिङ हुने जनाएको छ । सम्मेलनमा लगानीकर्ताले झन्डै १ खर्बको परियोजनामा एमओयु हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालाले जानकारी दिए ।

लगानी सम्मेलनपछि कोशी प्रदेश नेपालकै एक प्रमुख लगानी गन्तव्यको रूपमा परिचित हुने उनले अपेक्षा गरेका छन् । लगानी सम्मेलन विराटनगरको वीरेन्द्र गृहमा उद्घाटन हुने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्