झापा,बैशाख ३ ।साहित्यकार हरिनारायण भट्टराई झर्रो शैली सम्मानबाट सम्मानित भएका छन् ।

लेखनाथ पुस्तकालय चन्द्रगढीले हिजो एक कार्यक्रमका बीच २५ हजार नगदसहित सो सम्मान बिर्तामोड निवासी भट्टराईराई प्रदान गरेको हो । झर्रो शैली सम्मान तथा पुरस्कार झर्रोवादी अभियन्ता चूडामणि रेग्मीका छोरा प्रदीपमणि रेग्मीबाट २०७९ सालदेखि उपलब्ध गराउन थालिएको हो।

पुस्तकालयका सभापति खगिन्द्रा खुसीको अध्यक्षता, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य, झर्रोवादी अभियन्ता एवम् अग्रज साहित्यकार चूडामणि रेग्मी र प्राज्ञ सुभद्रा भट्टराईको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि, ,विशेष अतिथि , पुरस्कारका संस्थापक प्रदीपमणि रेग्मी र कार्यक्रमका सभापतिले सम्मान गरेका थिए ।

सोही कार्यक्रममा लेखनाथ पुस्तकालयबाट प्रकाशित लेखनाथ स्मारिका –२ र काठमाण्डौबाट प्रकाशित “ आलेख चूडामणि रेग्मी अङ्क” को विमोचन गरिएको थियो । विमोचित कृति आलेख चूडामणि रेग्मी अङ्कको संक्षिप्त समीक्षा लेखनाथ पुस्तकालयका पूर्व सभापति तथा स्रष्टा नवराज घिमिरेले गरेका थिए भने स्मारिका सम्पादन मण्डलका सदस्य होम सुवेदीले सम्पादनका क्रममा आईपरेका समस्या र लेख रचना सङ्कलन गर्दा भोगेका अप्ठ्यारोको वारेमा सम्पादन मण्डलको अनुभूति राखेका थिए ।

त्यस्तै काठमाण्डौमा चैत २८ गते लोकार्पण गरिएको गीतकार टीका भट्टराईद्वारा लिखित १०१ वटा गीत संग्र्रहित कृति“माटोको सुगन्ध” को वारेमा चन्द्रमणि पौडेलले संक्षिप्त रुपमा प्रकाश पारेका थिए । गीतकार टीका भट्टराई नेपालले सोही कृतिभित्रबाट सङ्गिनी गीत गाएकी थिइन् ।

कार्यक्रममा जयप्रसाद आचार्यले कविता,दिलीप घिमिरेले गजल, मीना अधिकारीले कविता वाचन गरेका थिए भने कार्यक्रमका सभापति खगिन्द्रा खुसीले चूडामणि रेग्मीको कृति“ यक्षको पोखरा प्रवास” बाट एउटा कविता वाचन गरेकी थिइन् ।कार्यक्रममा प्रमुख अतिथि खरेल र विशेष अतिथि प्राज्ञ भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । पुस्तकालयका सदस्य निर्मला बाँस्तोलाले स्वागत मन्तव्यसहित कविता वाचन गरेको कार्यक्रमको सञ्चालन सचिव हरिकिशोर आचार्यले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्