झापा, बैशाख ४ । सुनसरीमा लखेटेर एक गाँजा तस्करलाई पक्राउ गरिएको छ भने अर्का फरार भएका छन् ।

हिजो साँझ ७.५० बजे सुनसरी जिल्लाको हुलाकी राजमार्ग(फुलचोक–बिराटनगर)बाट मोटरसाइकलमा गाँजाको ओसारपोसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिनगराबाट प्रहरी टोली खटिएर सो स्थानमा चेकजाँच गरेको थियो । त्यसक्रममा तत्काल अल्फाबेट नं. नखुलेको मोटरसाइकललाई रोकी चेकजाँच गर्न खोज्दा नरोकी भागेको थियो ।
त्यसलाई पछ्याउदै जाँदा हरिनगरा –४ हरिनगरा बजारमा स्थानीयको सहयोगमा मोटरसाइकलमा पछाडी सवार सप्तरी कञ्चनपुर घर भई हाल सुनसरी बराहक्षेत्र ६ चक्रघट्टी बस्ने २४ वर्षीय राजेश मुखिया अन्दाजी ३० केजी गाँजासहित पक्राउ परेका हुन् ।
उनले बिचमा दुईवटा झोलामा गाँजा बोकेका थिए । गाँजासहित नियन्त्रणमा लिई उनलाई इलाका प्रहरी कार्यालय हरिनगरामा राखिएको छ । मोटरसाइकल र मोटरसाइकल चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।