झापा, बैशाख ४ । झापाको कन्काई नगरपालिका वडा नं २ मा रहेको हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.९ का ४५ वर्षीय सन्तोष नेम्बाङ रहेका छन् । आज दिउँसो अन्दाजी ४ः३० बजे हेप्पील्याण्ड फनपार्कभित्र बिजुलीको काम गर्ने सन्तोष नेम्बाङलाई बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । घाइते नेम्बाङलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता आज बिहान ८;५५ बजे मोरङको लेटाङ नगरपालिका –५ खेरुवा बस्ने कौशिला सुबेदीको पक्की घरमा चट्याङ पर्दा एउटा भैंसी मरेको छ । चट्याङले २ वटा बिजुलीको मिटर बक्स पूर्णरुपमा क्षतिग्रस्त भएको छ । चट्याङबाट अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।