झापा, बैशाख ४ । चार दशकदेखि राजनीति र समाजसेवामा तल्लीन बिर्तामोड ५ का लक्ष्मीप्रसाद आचार्य भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको बिज्ञ सदस्यमा नियुक्त भएका छन् ।

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आचार्यलाई भूमि समस्या समाधान आयोग झापाको विज्ञ सदस्यमा नियुक्त गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको मन्त्रालयका सहसचिव मदन कोइरालाले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्वर २ प्रदेश निर्वाचन क्षेत्र १ को सभापति , सीके चिन्तन प्रतिष्ठानका महासचिव, सहारा नेपाल साकोसका संचालक समिति सदस्य , त्रिवेणी टोल सुधार संस्थाका संस्थापक अध्यक्षलगायत विभिन्न संघ संस्थामा आवद्ध आचार्यलाई विज्ञ सदस्य पदमा नियुक्त गर्दै भूमिहीन दलित,भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय निर्णयको आदेशको दफा ८ को उपदफा ३ बमोजिम पदावधि कायम हुनेगरी आचार्यलार्ई भूमि समस्या समाधान आयोग झापाको विज्ञ सदस्यमा नियुक्त गरिएको जनाइएको छ ।
यसअघि भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा मदन अधिकारी तथा सदस्यहरुमा रेनुका भुर्तेल र चक्र शेर्मा नियुक्त भइसकेका छन् ।