झापा,बैशाख ४ । विर्तामोड ८ स्थित देउनियामा रहेको गणेश पञ्चायन मन्दिरको आयोजनामा विश्रान्ती घाट निर्माण गर्नका लागि श्रीमद्भागवत महापुराण संचालन गरिने भएको छ ।

विर्तामोड ८ नं वडा कार्यालय तथा धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजक रहेको श्रीमद्भागवत महापुराण बैशाख ६ देखि बैशाख १३ गतेसम्म सञ्चालन गरिने भएको हो । बिर्तामोड ८ , ७ र ९ नं वडाका बासिन्दाहरुलाई देउनिया खोलामा अन्त्येष्टि गर्न अप्ठयारो परिरहेकाले पुराणमार्फत सबैको सरसहयोगमा विश्रान्ती घाट निर्माण गर्न लागिएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । उनले घाट निर्माणका लागि आफ्नो वडा कार्यालयले १५ लाख रुपैयाँ विनियोजन गर्ने र अन्य वडाहरुले पनि सहयोग गर्ने भएको जानकारी दिए ।
धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल प्रमुख वाचक रहने पुराणबाट संकलित रकम देउनिया खोलाको भेलागुडीमा विश्रान्ती घाट निर्माणार्थ खर्च गरिने छ भने केही रकम मन्दिरको जीर्णोद्धारका लागि खर्च गरिने आयोजकको भनाइ छ ।
नगद १० हजारमाथि सहयोग गर्ने दाताबाट संकलन हुने सवै रकम घाट निर्माणमा खर्च हुने गरी जम्मा गरिने मूल आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए । उनका अनुसार ९ हजार ९९९ सम्म सहयोग जुटेको रकम पुराणका लागि खर्च गरिने छ ।
आयोजक समितिका सचिव अनिल गौतमका अनुसार विर्तामोड ८ र आसपास जोडिएका अन्य वडाका बासिन्दाको अन्त्येष्टि कर्म गर्ने घाट व्यवस्थित नभएका कारण पुराणमार्फत संकलन हुने रकम र सम्बन्धित वडाबाट सहयोग जुटाएर विश्रान्ती घाट निर्माण गरिने छ ।
उनले धेरैभन्दा धेरै भक्तजन सहभागी गराउन बैशाख ६ गतेको कलश यात्राका लागि निःशुल्क यातायातको प्रबन्ध रहेको जानकारी दिए । पुराणको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गर्ने जनाइएको छ ।
प्रमुख वाचक तथा धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनालका अनुसार समाजको पूर्व संकल्प अनुसार १०८ भागवत लगाउने कार्यअन्तर्गत ३४ औं सार्वजनिक संगीतमय पुराणका रूपमा विर्तामोड ८ देउनिया चौकमा सो पुराण लगाइने भएको हो । प्रमुख वाचक खनालले मृत्युवरण सवैको हुने हुँदा घाट निर्माणमा हात खोलेर सहयोग गर्न सवै भक्तजनसंग आग्रहसमेत गरेका छन् ।