बिर्तामोड, बैशाख ४ । एक महिनाअगाडि गरामनी क्याम्पसमा पाएको चोटबाट घाइते बनेको नेकपा एमालेले बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा अर्को चोट खाने भएको छ ।

नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा करिव ३० वर्षदेखि निचाझोडा वनमा रहेको वर्चस्व एमालेले गुमाउने देखिएको छ । एमालेको पकड रहेको टोल नं १ को मतगणनामा नै एमाले पछि परेको छ । त्यस टोलको ५० वटा मत गणना गर्दा नेकपा माओवादी केन्द्र , नेपाली कांग्रेस , राप्रपा र रास्वपा सम्मिलित चारदलीय गठबन्धनका कृष्णप्रसाद लिम्बूले ३२ र उनका प्रतिद्वन्द्वी एमालेका सूर्यप्रसाद भट्टराईले १८ मत ल्याएका छन् । सो टोलबाट अघिल्लो निर्वाचनमा एमालेका बद्री प्याकुरेलले ११४ मत ल्याउँदा उनका प्रतिस्पर्धी अहिलेकै अध्यक्षका उम्मेद्वार कृष्णप्रसाद लिम्बूले मात्र १४ मत ल्याएका थिए । तर, यसपटक मत परिणाम ठीक उल्टो आएको छ ।

कोशी प्रदेशका मन्त्री एकराज कार्की बिर्तामोड ७ का स्थानीय बासिन्दा हुन् । सोही वडामा निचाझोडा वन रहेको छ । कार्की २१ वर्ष सो वनको अध्यक्ष रहेका थिए । २०७१ सालमा समुदायलाई हस्तान्तरण गरिएको सो वनमा २०५२ देखि २०७३ सम्म कार्की अध्यक्ष रहेका थिए । त्यसपछि २०७३ देखि २०७८ सम्म नेपाली कांग्रेसकी रेनुका उप्रेती अध्यक्ष बनेकी थिइन् । एक कार्यकाल कांग्रेसले चलाएपनि त्यसपछि एमालेकै बद्री प्याकुरेलले २०७८ देखि २०८२ सम्म अध्यक्षको कार्यभार सम्हालेका छन् ।

त्यसो त मन्त्री कार्की नै अध्यक्ष रहेको गरामनी क्याम्पसमा एमालेनिकट अनेरास्ववियूले लज्जास्पद हार बेहोर्नुपरेको थियो । वर्चस्व रहँदा रहँदै निचाझोडा वनमा पनि त्यस्तै परिणाम आउने देखिएको हो ।गरामनी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्