झापा,बैशाख ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको मागबमोजिम विद्यालय शिक्षा विधेयक संसद्बाट सकभर चाँडै पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षक महासंघका पदाधिकारीसँग शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा उनले विधेयक टुंगो लगाउने विषयमा सत्ता गठबन्धन, संसद्का पदाधिकारी र सरोकारवालासँग संवाद गर्ने पनि आश्वासन दिएका छन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो । त्यस क्रममा शिक्षकहरूले मागबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘हामीले माग सुनायौं । यसअघिको २४ बुँदे ध्यानाकर्षणपत्रबारे पनि जानकारी गरायौं,’ सुवेदीले भने, ‘विधेयकका विषयमा प्रधानमन्त्रीले सकारात्मक धारणा व्यक्त गर्नुभयो । विधेयकमा संसद्ले काम गरिरहेको जानकारी दिँदै विगतमा भएका सहमतिअनुसार नै विधेयक अघि बढ्ने बताउनुभयो ।’
बालुवाटारको छलफल शिक्षकहरूसँग आन्दोलन र समस्या समाधानका विकल्पमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आन्दोलनलाई निकास दिन शिक्षक नेतृत्व सकारात्मक रहेको पाइएको सचिवालयका एक अधिकारीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्न सांसदहरूको भूमिका हुने भन्दै त्यसतर्फ पनि विचार गर्न शिक्षक प्रतिनिधिलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले विधेयक चाँडै निष्कर्षमा पु¥याउने वचन दिए पनि सुनिश्चितता र विश्वसनीय आधार नभएकाले आन्दोलनलाई निरन्तरता दिइने शिक्षक महासंघले जनाएको छ । प्रधानमन्त्रीसँगको छलफलमा महासंघका तर्फबाट अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए ।
महासंघले १७ दिनदेखि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको छ । २५ चैतदेखि शैक्षिक हडताल पनि घोषणा गरिएको छ । विद्यालय छाडेर शिक्षक आन्दोलनमा उत्रँदा २ वैशाखमा सुरु भएको विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरणलगायत शैक्षिक गतिविधि प्रभावित भएका छन् । आन्दोलनले ११ वैशाखमा सुरु हुने कक्षा १२ को परीक्षा अनिश्चित बनेको छ । राष्ट्रिय परीक्षा बोर्डले भने तोकिएकै समयतालिकाअनुसार परीक्षा सञ्चालन हुने जनाउँदै आएको छ । एसर्ईईको उत्तरपुस्तिका परीक्षण पनि अनिश्चित बन्दै गएको छ ।