झापा, बैशाख ७ । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय पक्राउ परेका छन् ।

हिजो दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्टेन्डमा शंकास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरुले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो । ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधिन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरुले चोरी गरेको खुलेको छ । भारतको पानीट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरुले लैजान लागेका थिए ।
पक्राउ पर्नेहरुमा पश्चिम बंगाल, दार्जिलिङ जिल्ला पानीट्याङ्की बस्ने अन्दाजी २४ वर्षीय महमद राजेश ,बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबंकर दास र पानीटयाङ्की बस्ने ३२ वर्षीय राहुल अधिकारी रहेका छन् । उनीहरुलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।