झापा,बैशाख ७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन, अन्तर्राष्ट्रिय अभ्यास केहीले पनि नरोक्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गणतन्त्र नामले नभइ कामले मात्रै बच्ने धारणा राखे।

‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनै कुराले पनि उहाँहरूलाई रोक्दैन, राजनीतिमा आउने यदि इच्छा भयो भने, आउन रोक्ने हाम्रो केही पनि छैन,’ उनले भने, ‘हाम्रो उपराष्ट्रपतिजी पार्टीको सिपाहीकै रूपमा काम गर्न चाहन्छु भनेपछि, सबै कुराले हेर्दा केही कुराले रोक्दैन। मुख्य कुरा गणतन्त्रमा राम्रो काम हुनुपर्यो। गणतन्त्र सुदृढ हुँदै  जानुपर्‍यो ।’

प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र नबच्ने बताए।

‘गणतन्त्र नामले बच्ने कुरा होइन, कामले बच्ने हो,’ उनले भने।

प्रमुख दलका बीचमा गणतन्त्रमा विमति नरहेको बताउँदै भने, ‘उहिले देखि नै सहमति नै छ नि! दलहरूको बीचमा त उहिले पनि त असहमति थिएन। अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्याजस्तो गरी सोच्न पनि जरुरी छैन, जनआधारको दृष्टिले जनमतको दृष्टिले पनि।!
दलहरूबीच गणतन्त्रको रक्षाको निम्ति एक हुनुपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्यचाहिँ ठीक नभएको प्रचण्डले बताए।
भ्रष्टाचारका इस्युहरूमा सरकारलाई कहीँ कतै समर्थन नभनेको प्रष्टीकरण पनि दिए।

‘अहिलेको गठबन्धनलाई समर्थन बिलकुल होइन, त्यो भ्रम नपरोस्। हिजो भेट भएपछि लौ समर्थन भयो रे! यही गठबन्धनमा पनि जाने भयो कि क्या हो! भन्याजस्ता चर्चा भएका छन्। यो गठबन्धनमा जाने कुरा र यो गठबन्धनलाई समर्थन गर्ने कुरा कदापि हुन सक्दैन,’ उनले भने।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्