भद्रपुर, वैशाख ८ । ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा आज बिहान ५ बजेतिर सेवारो चोकमा पोलबाट लत्रिएको तार छुँदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो। मृत्यु हुनेहरुमा झापा भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल , उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल , उनीहरुका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य र गाडी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । घाइते हुनेहरुमा पौडेलका छोरी ललितपुर –१० बस्ने ४५ वर्षीया सबिना आचार्य (गम्भीर ) र नाति ९ वर्षीय भाबियम आचार्य (सामान्य) रहेका छन् ।
सगरमाथा चौकमा रहेको होटल डे ग्लोका संचालक भद्रपुरका पौडेल दम्पती छोरी , नाति र नातिनी लिएर पाथीभरा दर्शनका लागि जाँदै गरेका थिए । पौडेलका छोरी सविना डाक्टर हुन् । झापावाट आफ्नो सवारी साधन लिइ हिजो ताप्लेजुङ गएका उनीहरुले आज विहान ताप्लेजुङवाट पाथिभरा दर्शन गर्न अर्को भाडाको गाडी लिएर गएको बताइएको छ ।
बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
उनका अनुसार चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको रावलले जानकारी दिएका छन् ।



