झापा,बैशाख ८। अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने भएको छन् ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो ।
सोमबार समितिमा भएको छलफलमा निजामती कर्मचारीले अवकाशपछि पाउने दोहोरो सुविधा कटौती गर्ने सहमति भएको हो ।
विगतमा निजामती कर्मचारीले अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) पनि पाउने र वृद्धभत्ता पनि पाउँदै आएका थिए । तर अब पेन्सन मात्र पाउने गरी ऐन बन्न लागेको हो ।
त्यस्तै सेवाबाट अवकाश भएपछि पेन्सन पाउने कर्मचारी राज्यको अन्य कुनै निकायमा वा लाभको पदमा नियुक्ति भए उक्त अवधिभर त्यस्तो व्यक्तिले उक्त पदको मासिक तलब मात्र पाउने व्यवस्था पनि ऐनमा गरिएको छ ।
समिति बैठकमा अधिकांश सांसदले दोहोरो सुविधामाथि लगाम लगाउनुपर्नेमा जोड दिएका थिए । भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीलाई पनि पेन्सन दिने गरी सरकारले कानुन नबनाएको पनि सांसदहरूले उल्लेख गरे ।
भ्रष्टाचारमा दोषी भएकाले कुनै पनि हालतमा पेन्सनको सुविधा नपाउने र अन्य अपराधको हकमा के गर्ने भन्ने विषयमा उपसमितिमा छलफल भएको सांसदहरूको भनाइ थियो ।
उपसमिति सदस्यहरूले भ्रष्टाचारमा दोषी ठहर भएकालाई पेन्सन दिनुपर्छ भन्ने पक्षमा कोही पनि नभएको स्पष्टीकरण दिए । उपसमिति संयोजक दिलेन्द्र प्रसाद बडुले विगतको ऐनमा भ्रष्टाचार दोषी ठहर कर्मचारीलाई पेन्सनको सुविधा नदिने तर अन्य सुविधाको हकमा स्पष्ट नबोलेकाले त्यो विषयमा स्पष्ट बनाउनुपर्ने विषयमा छलफल भएको बताए ।

उपसमितिले भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई सेवा सुविधा निरन्तर पाउने गरी ऐनमा व्यवस्था नगरिएको पनि उनले दाबी गरे । उपसमितिका सांसदहरूको मनसाय भ्रष्टाचार ठहर भएपछि पनि पेन्सन दिनुपर्छ भन्ने नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्