झापा, बैशाख ९ । गौरादह नगरपालिकाका नगर उपप्रमुख जलवर्षा राजवंशी(चौधरी) ले आफ्नो राजनीति सक्न विभिन्न षडयन्त्र भइरहेको बताएकी छन् ।

उनले गौरादहवासीहरुले दिएको जिम्मेवारीप्रति आफू जवाफदेही रहेको भन्दै विकास,सुशासन र सामाजिक न्यायको लागि जहिल्यै पनि अडिग भएर लाग्ने प्रतिबद्धता जनाएकी छन् । आफूमाथि षडयन्त्र भइरहेको भन्दै उनले सामाजिक संजालमार्फत लामो गुनासो व्यक्त गरेकी छन् ।
बैठकमा जाने क्रममा नगरवासीको विहेको निम्तो मान्न नगरपालिकाको गाडी लिएर बिहे घरमा जाँदा उदय भट्टराईलगायतका व्यक्तिहरुले उनलाई बैशाख ७ गते अपशव्द प्रयोग गरेको बताइएको छ ।
उनले सामाजिक संजालमा लेखेकी छन् ‘अहिलेसम्म गौरादहको नगर उपप्रमुखको रुपमा मलाई स्वीकार गर्न नसकेका केही तत्वहरुले अहिलेसम्म मेरो जिम्मेवारीप्रति कहिंकतै कमिकमजोरी नपाएपछि सानो सानो कुराको पछि,सवारी साधनको पछि लागेर मलाई खुइल्याउन,मेरो बदनाम गर्न लागेका छन् ।यहाँहरुलाई अवगत नै छ अस्ति बैशाख ७ गते बेलुका कार्यब्यस्तताको कारण जनताले बोलाएको निम्तो मान्ने क्रममा आफ्नै नगरपालिकाभित्र मलाई असभ्य र अभद्र रुपमा मादक पदार्थ सेवन गरेर मसंग अराजक शैलीमा प्रस्तुत भएपछि मैले आफ्नो आत्मरक्षाको लागि मलाई आबेशमा आउन बाध्य बनाएको छ।आज यो अपमान यो अराजक व्यबहार एक उपप्रमुखमाथि मात्र गरेको होइन, सम्पूर्ण मतदाता नगरवासीहरुमाथि गरेको अपमान हो।यसको म घोर भर्त्सना गर्दछु।’
नगरपालिकाको गाडी लिएर बिहेमा गएको विषय मात्र होइन , आदिवासी समुदायकी राजवंशीलाई केही दिनअघि केपी ओलीको कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर बद्नाम गर्न खोजिएको छ । बोल्नेक्रममा प्रधानमन्त्री ओलीलाई राष्ट्रनायक भन्नुपर्नेमा राष्ट्र निर्माता भनेकोमा त्यस विषयलाई तिललाई पहाड बनाइएको थियो । ‘ मैले प्रधानमन्त्री ओलीलाई राष्ट्रनायक भन्न खोजेमा बोल्नेक्रममा राष्ट्र निर्माता भन्न पुगेछु ’ उनले भनिन् ,‘ तर त्यस विषयलाई बबण्डर मच्चाउन खोजियो । ’
उनले जनताको अमूल्य मतलाई शिरोधार्य गर्दै आजसम्म आफ्नो क्षमता ,बुद्धि र विवेकले भ्याएसम्म इमान्दारीताका साथ जिम्मेवारी निर्वाह गरिरहेको स्पष्ट पारेकी छन् ।