लक्ष्मी उप्रेती,

मेचीनगर । ताप्लेजुङको पाथीभरा दर्शनका लागि भनेर आफ्ना दुई सन्तानसहित ललितपुरकी ४५ वर्षीया सविना आचार्य शनिबार झापाको भद्रपुरमा रहेको माइती घरमा आइपुगिन् । १० वर्षीय छोरा अभियम र १६ वर्षीया छोरी आध्या पनि मावली घर आउन पाएकोमा खुशी थिए । त्यसमा पनि हजुआमा हजुरबुबासहित स—परिवार मिलेर ताप्लेजुङको पाथीभरा देवीको दर्शनका लागि जान पाउँदा झनै खुशी थिए ।

छोराछोरीसहित भद्रपुर —८ माइती घर आएकी सविना आफ्ना बाबुआमा ७० वर्षीय विनोद पौडेल , ६९ वर्षीया सरिता पौडेल र आफूसहित ५ जनालाई लिएर आइतबार विहान त्यसतर्फ प्रस्थान गरिन् । आइतबार साँझ उनीहरू सदरमुकाम फुङलिङमा रहेको होटेल प्यारिजमा बास बसे ।

भोलिपल्ट सोमबार विहानमात्र उनीहरुको उकालो चढ्ने योजना थियो । पाथीभराको फेदी काफ्लेपाटीसम्म पुग्न सविनाले मे .१ ज ३०११ नम्बरको ट्याक्सी बन्दोबस्त गरिन् । त्यही ट्याक्सीमा शुरु भयो उनीहरुको पाथीभरा देवीको दर्शन यात्रा ।

उनीहरुलाई के थाहा पाथीभरा नपुग्दै तीर्थ यात्रा टुंगिन्छ भनेर । तर, जे नहुनु पर्ने थियो त्यही भयो । सविनासहित उनको परिवारको पाथीभरा नपुग्दै टुंगियो तीर्थयात्रा । घरबाट पाँचजना सँगै पाथीभरा देवीको दर्शनका लागि निस्केका तर, गन्तव्यमा पुग्न नपाउँदै तीनजना अस्ताए । सविनाको बुवा–आमालाई पाथीभरा पुर्याउने सपना पनि अधुरै रह्यो । मन्दिर पुग्ने यात्रा केही दूरी बाँकी रहँदै सधैँका लागि रोकियो । पाथीभरा पुग्ने त्यो सपना क्षणभरमै चकनाचुर भयो ।

जहाँ उनले आफ्ना बाबुआमा विनोद , सरिता अनि छोरी आध्यालाई सदाका लागि गुमाइन् । सुकेटारबाट काफ्लेपाटीसम्म खाल्डाखुल्डी त थियो नै , तर बाटोमा लत्रिएको बिजुलीको तार नै उनीहरुको मृत्युको कारण बन्यो ।

पाथीभरा मन्दिर जाने सुकेटार–काफ्लेपाटी सडकखण्डअन्तर्गत फुङलिङ– १०, सेवारो चोकमा उनीहरू सवार मे १ भ ३०११ नम्बरको बोलेरो जीप लत्रिएको बिजुलीको तारमा अल्झिएर आगो लागेको थियो । उनीहरुको पाथीभरा देवीको दर्शन गर्ने सपना अधुरो मात्र रहेन, सविनाका बुवा विनोद, आमा सरिता र छोरी आध्या पाथीभराको दर्शन गर्न नपाउँदै सधैँका लागि अस्ताए ।

एक आमाको श्रद्धाभाव, छोरी–छोराको उत्सुकता र बुढा बाबुआमाको आध्यात्मिक आस्था बोकेर सुरु भएको एक पवित्र यात्रा पाथीभरा पुग्न नपाउँदै विदारक दुर्घटनामा बदलियो । जसका कारण आज सविनाको आफ्नो घर ललितपुरमात्र होइन उनको माइती घर झापा भद्रपुरसमेत पुरै शोकमग्न बनेको छ । घटना सुनेदेखि उनीहरुका आफन्तमात्र होइन, छरछिमेकीका आँखासमेत ओभाएका छैनन् ।

त्यही घटनामा परेर सविना र छोरा अभियम घाइते अवस्थामा छन् । ‘हामी शोकमा छौ, पत्याउनै नसकिने र अकल्पनीय घटना भयो’ पौडेलका छिमेकीहरु भन्छन् ,‘मृत्युको खबरले सबैलाई दुःखित बनाएको छ ।’ ‘मैले त त्यहाँको दृश्य हेर्न पनि सकिनँ’ स्थानीय सञ्चारकर्मी इशा प्रधान भन्छिन,‘ पाथीभरा देवीको दर्शनका लागि जानु भएको थियो तीनजना त कहिल्यै नर्फकने गरि अस्ताउनु भयो । यो घटनाले घरका सदस्य तथा आफन्तमा रुवाबासी चलेको छ । गाउँ नै शोकमा डुबेको छ ।’ चिकित्सकसमेत रहेका सविनाका श्रीमान् निरन्जन आचार्यको आँखा अझै ओभाएको छैनन् । छोरी र सासुससुरा गुमाएका निरन्जन घटनास्थलमा आफै आइपुगेका थिए ।

‘नियतिको खेल व्यहोर्नु, स्वीकार्नुबाहेक अरु कसको के लाग्छ’ नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले सामाजिक सञ्जालमा लेखेका छन् । मृतक विनोदका बुवा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व न्यायाधीश हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्