झापा, बैशाख ९ । पाथीभरा क्षेत्रमा हिजो भएको जीप आगलागीको घटनामा तीन जनालाई गुमाउनु परेका भद्रपुरका पौडेल परिवारमाथि अर्को विपद थपिएको छ ।

आफ्ना बुवाआमा र भान्जीको दुखद घटना सुनेर अष्ट्रेलियाबाट हतारिदै फर्किएका समीप पौडेलले आफ्ना बुवाआमालाई दागवत्ती दिन पाएनन् । घटना सुनेर उनी अष्ट्रेलियाबाट काठमाडौं आइसकेका थिए । तर , दुर्भाग्यवश काठमाडौबाट दिउँसो ३.५० बजेको समीप चढेको विमान प्रतिकुल मौसमका कारण चन्द्रगढी विमानस्थल आउन नसकी बीच बाटोबाटै फर्किएको छ । सोही विमानमा आध्याका बडाबुवा पनि चढेका थिए । उनी पनि आध्यालाई दागवत्ती दिनका लागि आउन पाएनन् । आज दिउँसो ताप्लेजुङबाट तीन जनाकै शव ल्याएर भद्रपुर– ७ देउनियामा रहेको संकटेश्वर विश्रान्ती घाटमा अन्त्येष्टिका लागि साँझ ५ बजेतिर लगिएको थियो । भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल र श्रीमती ६९ सरिता पौडेलका छोरा समीप आउने भनेर घाटमै करिव दुई घण्टा पर्खेर बसेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए । उनी र आध्याका घरका सदस्य आउन नसक्ने भएपछि साँझ ७ बजेतिर दागवत्ती दिइएको थियो । विनोदका काका कृष्ण पौडेलले तीनैजनालाइै दागवत्ती दिएको नगर प्रमुख पोखरेलले जानकारी दिए । विनोद पौडेल, सरिता पौडेल र उनीहरुका नातिनी ललितपुरकी आध्या आचार्यको शव विनोदका भाइ महेश पौडेलले बुझेका थिए ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा हिजो बिहान ५ बजेतिर सेवारो चोकमा पोलबाट लत्रिएको तार छुँदा करेन्ट लागेको थियो । त्यसलगत्तै जीपमा आगो लागेको थियो। आगलागीबाट भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल , उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल , उनीहरुका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य र गाडी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको थियो । त्यस्तै पौडेलका छोरी ललितपुर –१० बस्ने ४५ वर्षीया सबिना आचार्य र नाति ९ वर्षीय भबियम आचार्य घाइते भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्