झापा, बैशाख १० । सङ्घीय सरकारले पाँचथरको फिदिम नगरपालिका १ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोला दोभानमा हाल्न बेलिब्रिज उपलब्ध गराउने भएको छ ।

गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढीले खोलाको पुल बगाएको थियो । फेमे खोलाको पुल बगाएपछि त्यहाँ ह्युम पाइपमार्फत डाइभर्सन गरेर सवारी सञ्चालन गराइँदै आएको छ ।

यहाँ पुल लगाउने काम प्रदेश सरकारको क्षेत्राधिकारमा पर्छ । वर्षा लाग्न थाल्दासम्म पुल बनाउने सुरसार नदेखिए पछि स्थानीय र जनप्रतिनिधिले पटक पटक प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । यद्यपी प्रदेश सरकारले स्रोत सुनिश्चित नगरेका कारण पुल निर्माण अलपत्र परिरहेका बखत सङ्घीय सरकारले कोशी प्रदेश सरकारलाई ५० मिटर लामो बेलिब्रिज उपलब्ध गराउने भएको हो ।

सङ्घीय सरकारअन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख ९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार उक्त बेलिब्रिज कोशी प्रदेश सरकारलाई उपलब्ध गराउन पत्राचार गरेको हो ।

तत्काल पक्की पुल बन्न सक्ने सम्भावना नदेखिए पछि उक्त स्थानमा बेलिब्रिज आवश्यक रहेको भन्दै कोशी प्रदेश सरकारले सङ्घीय सरकारलाई उपलब्ध गराउन पत्राचार गरेपछि मन्त्रिपरिषदको निर्णयबाटै बेलिब्रिज उपलब्ध गराउने निश्चित भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश प्रसाद पौडेलले बताए ।

सङ्घीय सरकारले बेलिब्रिज उपलब्ध गराउने निश्चित भए पनि कोशी प्रदेश सरकारले ढुवानी र जडानका लागि प्रकृया सुरु गरेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्