झापा,बैशाख ११ । चालु आर्थिक वर्ष २०८१-८२ को नौ महिनामा धानचामल आयात दोब्बरले बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म ३२ अर्ब १२ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६३ करोडको खाद्यान्न आयात भएको थियो ।
गत आव २०८०-८१ मा २२ अर्ब बराबरको धानचामल आयात भएकोमा चालु आवको नौ महिनामै ३२ अर्बभन्दा बढीको आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिणाममा खाद्यान्न आयात भएको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार नौ महिनामा सबैभन्दा धेरै १८ अर्ब १६ करोड ५९ लाख २० हजार रुपियाँ बराबरको ४५ लाख ४१ हजार ४८० केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १० अर्ब ३९ करोड ३७ लाख ९६ हजार रुपियाँ बराबरको २० लाख ७६ हजार ७५९ केजी धान आयात भएको थियो ।
यस्तै नौ महिनामा १३ अर्ब ९६ करोड ३७ लाख ९९ हजार रुपियाँ बराबरको नौ लाख ९७ हजार ४१४ केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा सात अर्ब २४ करोड ७१ लाख ५१ हजार रुपियाँको तीन लाख ४५ हजार १०१ केजी चामल आयात भएको थियो ।
यस्तै नौ महिनामा १४ अर्ब ६७ करोड ३८ लाख रुपियाँको १४ लाख ६७ हजार ३८० केजी मकै आयात भएको छ । गत वर्ष सो अवधिमा १० अर्ब ८८ करोड ७६ लाख रुपियाँको १२ लाख नौ हजार ७३४ केजी मकै आयात भएको थियो । मकै कुखुराका दानाका लागि अर्जेन्टिना, ब्राजिल, बङ्गलादेश, ट्रकी, भारत चीनबाट बढी आयात हुने गरेको छ । यस्तै दुई करोड ९७ लाख ९२ हजार रुपियाँको नौ हजार ९३१ केजी जौ आयात भएको छ । विभागका अनुसार चालु आव २०८१-८२ को नौ महिनामा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजार रुपियाँको खाद्यान्न आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ३७ अर्ब १२ करोड ३४ लाख रुपियाँको खाद्यान्न आयात भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकमा वार्षिक ६५ देखि ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने गर्छ ।
चालु आवका ५९ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको छ । धानको उत्पादन बढे पनि स्थानीय माग पूरा नहुँदा यस वर्ष ठुलो परिणाम आयात गर्नु परेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले खानपानमा आएको परिवर्तनका कारणले गर्दा धानचामल आयातमा वृद्धि भएको बताए ।