झापा, बैशाख १२ । झापाको मेचीनगरमा एक पुरुषले धारिलो हतियार सिक्कल प्रहार गरी महिलालाई गंभीर घाइते बनाउँदा इटहरीमा महिलाको चक्कु प्रहारबाट एक दम्पती नै घाइते भएका छन् ।

मेचीनगर नगरपालिका वडा नम्वर १४ धाइजन बस्ने ३१ वर्षीया पुजा खरेललाई बुधवार साँझ ७ बजेतिर वडा नं . १५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले मादक पदार्थ सेवन गरी एक्कासि सिक्कल प्रहार गरेका थिए । घाइतेलाई चारआलीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । हतियार प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।
उता इटहरीमा एक महिलाको चक्कु प्रहारबाट एक दम्पती घाइते भएका छन् । बुधवार राति १०.३० बजे इटहरी ४ मकैटोलस्थित निर्मला अधिकारीको घरमा डेरा गरी बस्ने स्थायी वतन थाहा नभएकी २० वर्षीया अनु भुजेलले सोही घरमा डेरा गरी बस्ने स्थायी वतन थाहा नभएकी २२ वर्षीया आरती सरदारलाई सामान्य घरायसी बिषयमा विवाद हुँदा चक्कु प्रहार गरेकी थिइन् । आरतीका श्रीमान २५ वर्षीय सुरेश सरदारसमेत झगडा छुट्याउने क्रममा घाइते भएका छन् ।
दुबै घाइतेलाई उपचारको लागि सामुदायिक पोलि क्लिनिक पठाइएको छ । चक्कु प्रहार गर्ने अनु भुजेललाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।