झापा,बैशाख १३ । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामबिच विवाद देखिएको छ ।

विराटनगरमा आयोजित कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती विषयको अन्तरसम्वाद कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीको धारणा परस्पर विरोधी आएको हो ।
कोशी प्रदेशको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए मुख्यमन्त्री कार्की । विशिष्ट अतिथि थिए केबलकार निर्माण कम्पनीका प्रमुख तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ।
महासंघका अध्यक्ष ढकालले केबलकार निर्माणमा लिएको अडानबारे मुख्यमन्त्री कार्कीबाट प्रशंसा हुनासाथ मन्त्री राईले संस्कार र संस्कृति, भेषभुषाका साथै परम्परागत कुरालाई पनि जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले केबलकार निर्माणमा देखिएका अवरोधलाई ‘बिडम्बनापूर्ण’ भन्दै आलोचना गरे । ‘केबलकार निर्माण कार्य सुरु भएपछि जातीय बाजा बज्न थाल्यो, पहिचानको बाजा बज्न थाल्यो । देउतालाई समेत च्याँखे थापेर पूर्वाधारका लगानी रोक्ने प्रयास गरियो, जुन बिडम्बनापूर्ण हो,’ उनले भने, ‘यसप्रति कोशी प्रदेश सरकार दुःख व्यक्त गर्दछ ।’
‘राजनीतिक क्षेत्रबाट भएका बाधा अवरोधलाई पन्छाउँदै, त्यही राजनीतिक दललाई चन्दा दिँदै, उनीहरूबाटै भएका अप्ठ्यारालाई पन्छाउँदै जसरी अगाडि बढ्नु भएको छ, त्यो प्रशंसा गर्न लायक छ,’ उनले ढकालप्रति नरम हुँदै भने, ‘आदरणीय चन्द्र ढकाल, जसले पाथीभरामा केबलकार निर्माणको लागि नेपालको कानुनको परिधिभित्र रहेर कार्य सुरु भयो । त्यसपछि बाजा बज्न थाल्यो धेरैतिरबाट ।’
त्यसरी आउने बाधा अवरोधलाई वार्ता र सम्वादबाट हल गर्न सक्ने मुख्यमन्त्री कार्कीले बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गरेका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामले भने पहिचानको आन्दोलनलाई अन्देखा गरेर आफूहरू अगाडि बढ्न नसक्ने बताए । ‘हामीले त्यो समुदायको धर्म, संस्कृति र संस्कारलाई जगेर्ना गर्छु भनेर प्रतिबद्धता जनाएका छौँ । त्यो प्रतिबद्धता पूरा गर्न खोज्दा विकासको पक्षमा शतप्रतिशत उभिन हामीलाई पनि चुनौती छ,’ उनले भने, ‘किनभने त्यो समुदायमा हामी नाङ्गै हुर्केर आइपुगेका हौँ । हामी विकासको विरोधी होइनौँ तर, संस्कार र संस्कृति, भेषभुषा, परम्परागत कुरालाई पनि जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ ।’
उनले सीएसआरसलाई पनि पारदर्शी गर्दै निजी क्षेत्रको विस्तार र विकास गर्नुपर्नेमा जोड दिए । ‘ताप्लेजुङको बारेमा अझै पनि सहकार्य र सहमतिको बाटोबाट हामी अगाडि जानुपर्छ । यो मुलुकको थुप्रै ठुलो क्रान्ति पनि वार्ता र सहमतिबाटै अगाडि बढेको हो । बन्दुक र बमहरू बिसाएको अवस्था हो । ताप्लेजुङको घटनालाई पनि सहमति र संवादबाटै अगाडि बढ्ने कुरामा नेपाल सरकारबाट पनि पहल हुनुपर्छ र निजी क्षेत्रका अभियान्ताबाट पनि हुनुपर्छ,’ उनले ढकालप्रति इंगित गर्दै भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भने आफू हरेक भाषा, धर्म, रितिरिवाजलाई संरक्षण गरेर त्यो केबलकारको प्रोजेक्ट अगाडि बढाउने बताए । ‘म कुनैको पहिचानको विरोधमा होइन । त्यस्ता किसिमका संस्कृतिहरूलाई प्रवद्र्धन र संरक्षण गर्न म निजी क्षेत्रको तर्फबाट र कम्पनीको तर्फबाट गर्नुपर्ने कुनै पनि कुरा गर्न तयार छु,’ ढकालले भने, ‘उहाँहरूले पनि आफूहरू विकास विरोधी होइनौँ भन्नुभएको छ । म पनि उहाँहरूलाई धेरै धन्यवाद दिँदै कम्पनीको तर्फबाट गर्नसक्ने हरेक सुविधाहरू, धर्म संस्कृति, पहिचानलाई प्रवद्र्धन गर्न तयार छु ।’
ढकालले कुनै एउटा कार्यक्रम गरेर लगानी नआउने बताए । ‘लगानी सम्मेलनमा एउटा कार्यक्रम गरेरमात्रै लगानी आउँदैन । लगानीलाई प्रवद्र्धन गर्नका लागि हामी कति सहजीकरण गर्छौं, त्यसमा भर पर्ने कुरा हो,’ ढकालले भने ।
संघदेखि प्रदेश र स्थानीय सरकारले पनि लगानीकर्तालाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।