झापा, बैशाख १४ । वर्षभरि कसैको पनि कुदृष्टि आफ्नो परिवारमाथि नलागोस् भनेर आदिवासी राजवंशीहरुले नयाँ वर्षमा तन्त्रमन्त्रले आफ्नो घरआँगनलाई चारैतिरबाट छेक्ने गर्छन् । जसलाई ‘चातर’ भनिन्छ ।

कुलगुरु(गसाई) वा धामी बोलाएर राजवंशीहरुले नयाँ वर्षमा चातर बाँध्ने गर्दछन् । जुन तन्त्रमन्त्र साँझ परेपछि गर्नुपर्ने हुन्छ । कुलगुरुले विभिन्न सामानसहित फुकिदिएको माटोको भाँडो (हान्डी) घरबाहिर चार दिशाको चार ठाउँमा गाड्नु पर्ने नियम छ ।

आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न गसाईले फुकिदिएको माटोको भाँडो गाड्न जाँदा झापा बिर्तामोड ७ भुसावारीका ४८ वर्षीय सजनलाल राजबंशीले ज्यान गुमाउनुपर्यो । सर्पले डसेर हिजो साँझ उनको ज्यान गएको हो । तन्त्रमन्त्रको माटोको भाँडो गाड्ने क्रममा साँझ ७.३० बजे सजनलाललाई सेतो गोमनले डसेको उनका भतिजा रामलाल राजवंशीले बताए । उपचारका लागि ढिलो हुँदा बचाउन नसकिएको रामलालको भनाई छ ।

चारआलीस्थित सर्पदंश केन्द्रमा लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याउनासाथ डाक्टरले चेकजाँच गर्दा राति ९;४५ बजे सजनलालको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्