झापा , बैशाख १४ । आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ।
शिक्षकहरुले शनिबार नै आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए। उनीहरु निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्ने तयारी गरेपछि प्रहरीले रोकेको हो। आइतबार काठमाडौंको माइतीघरमा आन्दोलनका लागि आएका शिक्षकहरूले ‘शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर’ लगायतका नारा लगाएका थिए ।
