झापा,बैशाख १४ । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै आन्दोलरत चिकित्सकले आइतबार माइतीघरमा धर्ना दिएका छन् ।

काठमाडौं उपत्यकामा वर्षा भए पनि छाता ओढेर उनीहरु धर्नामा सहभागी भएको स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संर्घष समितिका डा. शेषराज घिमिरेले जनाए । नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार देशभरका सरकारी अस्पतालमा चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका थिए ।
नेपाल चिकित्सक संघले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज, निजी अस्पतालका चिकित्सकलाई धर्ना र प्रर्दशनमा सहभागी हुन अपिल गरेको थियो । काठमाडौं उपत्यकाका चिकित्सकलाई माइतीघर र बाहिरका चिकित्सकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सर्कुलर गरेका थिए । चिकित्सकहरु धर्नामा सहभागी भएपछि अस्पताल आएका बिरामी भने उपचार पाउनबाट वञ्चित भएका छन् ।
आवासीय चिकित्सक निर्वाह भत्ताको माग गर्दै आन्दोलनमा छन् । निजी मेडिकल कलेजहरुले सरकारले तोकेको मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने घोषणा गरेपछि चिकित्सक संघले पनि आवासीय चिकित्सकको आन्दोलनमा समर्थन जनाउँदै सहभागिता जनाएको हो । चिकित्सा शिक्षा आयोगले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरे पनि निजी मेडिकल कलेजहरुले निर्णय अस्वीकार गर्दै आएका छन् । भत्ता उपलब्ध गराउँदा घाटा हुने निजी मेडिकल एसोसिएसनले जनाएको छ ।