झापा, बैशाख १५ । करिव दुई साताअघि सवारी दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ ।

सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ गते बिर्तामोड नगरपालिका वडा न.६ रेखा पुलनजिक दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा आज दिउँसो २.१५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत चैत ३१ गते अन्दाजी १.३० बजे बिर्तामोड नगरपालिका वडा न.६ रेखा पुलनजिकै पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १० प. ७३३६ नम्वरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्र.१–०१–००१ च. ९८७३ नम्वरको छोटा हात्ती गाडीलाई ओभरट्याक गर्ने क्रममा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको.१–०३–००१ ज. ००४८ नम्वरको इलेक्ट्रिक भ्यान एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा न.७ बस्ने २६ वर्षीय राजवंशी र उक्त मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २३ वर्षीया प्रियंका राजवंशी घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।

तीनवटै सवारी साधन,भ्यान चालक इलाम माईजोगमाई गाउँपालिका वडा न.५ बस्ने २२ वर्षीय नविन खत्री , छोटा हात्ती गाडी चालक ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिकका वडा न.५ बस्ने ३० वर्षीय बुद्धिविर तामाङलाई अस्थाई प्रहरी चौकी बुट्टावारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्