झापा,बैशाख १६ । मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ ।

एलेक्सा लाइफ साइन्स प्रालिले अन्तराष्ट्रिय स्तरको गुणस्तरीय औषधि उद्योग खोल्न लागेको हो ।
सो कम्पनीका अध्यक्ष दिनेशकुमार स्वर्णकारका अनुसार हालसम्म उद्योगमा ७५ करोड रुपैयाँ लगानी भइसकेको र थप २५ करोड रुपैयाँ लगानी हुँदा उद्योगको निर्माण सकिने छ । उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन पानी, दोस्रो चरणमा एसभीपी सिसाको एक एमएलदेखि २० एमएलसम्मका इन्जेक्सन र तेस्रो चरणमा आँखा र कानको ड्रप (औषधि) उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अहिले नेपालमा पूर्ण रूपले सञ्चालनमा रहेको एक कम्पनी तथा विदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन बजारमा आउने गरेको छ । एलेक्सा सञ्चालनमा आएपछि सम्भवतः मुलुककै सबैभन्दा ठुला तथा स्तरीय कम्पनी हुने स्वर्णकारले दाबी गरे ।
‘वार्षिक करिब ६० अर्बको बजार रहेको औषधि क्षेत्रमा राज्यको कमजोर नीतिका कारण अझै पनि ६५ प्रतिशत हिस्सा विदेशी कम्पनीले ओगटेको छ,’ स्वर्णकारले भने, ‘हाल मुलुकमा १ सयभन्दा बढी कम्पनी औषधि व्यवस्था विभागमा दर्ता रहे पनि ७५ जति कम्पनी सञ्चालनमा छन् ।’
सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा गर्न नसकेका कारण पनि औषधि कम्पनीले समयमा भुक्तानी नपाएर समस्यामा रहेको उनले बताए ।
राज्यको कमजोर स्वदेशी उत्पादन प्रोत्साहन औषधि नीति र लगभग सबै कम्पनीले एकै खालको औषधि उत्पादन गर्ने भएका कारण २० देखि २५ कम्पनी ठिकठाक चलेको र अन्य कम्पनीको अवस्था सन्तोषजनक नरहेको एलेक्साका निर्देशक रञ्जित भगतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्