झापा, बैशाख १६ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रकाश विष्ट सरुवा भएर जाँदै गर्दा उनको १४ महिने कार्यकालमा सफलरुपमा अपराध न्यूनीकरण र अनुसन्धान भएको पाइएको छ ।

गत वर्षको चैत १४ गतेदेखि इलाका प्रहरी कार्यालय बिर्तामोडको कमाण्ड सम्हालेका विष्टको कार्यकालमा जम्मा ६५३ वटा मुद्धा दर्ता भएकोमा ५८३ जना अभियुक्त पक्राउ परेका छन् । उनले पाँचवटा कर्तव्य ज्यानका जटिल घटनासहित विभिन्न १२ वटा जघन्य अपराधको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी कार्वाही गरेका छन् ।

बिर्तामोडकी विष्णुकुमारी विष्टको हत्या , बाह्रदशीको हजाम हत्या , अर्जुनधाराको सामूहिक बलात्कार , दुर्गा प्रसाईका ८ जना समर्थकले जिउँदै भारतीय ट्रक चालकलाई जलाएको घटना , अर्जुनधारामा प्रेमीद्वारा प्रेमिका मनिशा लोहारको हत्या , बाह्रदशीमा मानकुमार राजवंशीद्वारा गंगालाल माझीको हत्याजस्ता जघन्य अपराधको उनले सफल अनुसन्धान गरेका हुन् ।

घटना नं १– २०८१ बैशाख ३ गते दिउँसो २ः३९ बजे बिर्तामोड –५ शनिश्चरे रोडमा बुद्धशान्ति वडा नं.२ बस्ने ४५ वर्षीय चन्द्रप्रसाद सिटौलालाई भारत जलपाईगुडी ४० सिलिगुडी घर बताउने ५४ वर्षीय शेरबहादुर गिरीले काँचो सुनजस्तो देखिने वस्तु देखाई रु.६० हजारमा दिन्छु भनी ललाई फकाई नक्कली सुन बिक्री गरी ठगी गरेका थिए । विष्टले ठगी गर्ने गिरीलाई पक्राउ गरी कानुनी कारवाही गरेका छन् । २०८१ बैशाख ३० गते झापा जिल्ला अदालतको आदेशले गिरी पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

घटना नं २–२०८१ जेठ ६ गते बिर्तामोड वडा नं. ३ मा डेरा गरी बस्ने काशिराम गौतमलाई बुद्धशान्ति गाउँपालिका– ८ कन्चनबारी टोल बस्ने २७ वर्षीय बरुण धिमालले धारिलो हतियार छुरीले पेट तथा छातीमा प्रहार गरी सख्त घाइते बनाई फरार भएका थिए । उनलाई २०८१ जेठ २७ गते पक्राउ गरिएको थियो । २०८१ असार २० गते झापा जिल्ला अदालतको आदेशले धिमाल पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

घटना नं ३– २०८१ असार १२ गते साँझ ५ बजे बिर्तामोड नगरपालिका वडा नं.७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुलीको घरमा अवैध हतियार राखिएको भन्ने गोप्य सूचनाको आधारमा तलासी लिँदा ग्वाली घरको उत्तरपूर्वमा निबुवाको बोटमुनि रहेको झाडीभित्र हरियो रातो फुलबुट्टे तन्नाको टुक्रा तथा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको थियो । हतियारसहित पराजुलीलाई पक्राउ गरी कानुनी कारवाही गरिएको थियो । २०८१ असार ६ गते झापा जिल्ला अदालतको आदेशले रु. ५० हजार धरौटी माग गरेकोमा सो रकम बुझाउन नसकी पराजुली कारागार चलान भएका छन् ।

घटना नं ४– २०८१ बैशाख २६ गते बिहानको राति बिर्तामोड वडा नं.४ शिवनगर टोलमा बस्ने बिष्णुकुमारी बिष्टलाई अज्ञात समूहले कर्तव्य गरी मारेको घटनामा संलग्न प्रतिवादीहरु गंगाप्रसाद राजवंशी, महेश राजवंशी, ज्याक भन्ने भगिरथ माझी, वर्षा दर्जी राजवंशी,धनबहादुर कामीलाई जेठ १६ पक्राउ गरिएको थियोे । त्यस्तै २०८१ असार ३ गते प्रतिवादी मनकुमार राजवंशी पक्राउ परेका थिए । २०८१ असार १२ गते झापा जिल्ला अदालतको आदेशले प्रतिवादी गंगाप्रसाद राजवंशी र महेश राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका छन् भने वर्षा दर्जी राजवंशी, भगिरथ माझी, धनबहादुर कामी, मनकुमार राजवंशी जनही रु. १ लाख धरौटीमा बुझाएर रिहा भएका छन् ।

घटना नं ५– २०८१ भदौ २ गते राति अन्दाजी ९ः३० बजे बिर्तामोड १ अदुवा पुलको पश्चिमपट्टि गस्ती गर्ने क्रममा शंकास्पद अबस्थामा दमक वडा नं. ३ भुटानी शरणार्थी शिविर जी–३ घर भई हाल बिर्तामोड वडा नं. १ बस्ने २५ वर्षीय बिशाल राई १९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । हिरासतमा राखिएका राई २०८१ भदौ ५ गते पेटसम्बन्धी बिरामी भई बिर्ता सिटी अस्पतालमा उपचार गराइरहेको अवस्थामा रातको समयमा अस्पतालबाटै फरार भएका थिए । उनलाई भदौ ८ गते अर्जुनधारा –११ बसपार्क आसपासको क्षेत्रबाट पुनः पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको छ । २०८१ कात्तिक ९ गतेको झापा जिल्ला अदालतको आदेशले उनलाई २ महिना कैद, २०० रुपैयाँ क्षतिपूर्ति शुल्क वापत र २०० रुपैयाँ पीडित राहत कोष जम्मा गर्नुपर्ने फैसला भएको छ ।

घटना नं ६– २०८१ भदौ ४ गते अर्जुनधारा नगरपालिका वडा नं.४ दहीझोडा बस्ने इन्द्रबहादुर आङ्देम्बेको घरकोठामा अवैध हातहतियार पेस्तोल लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा पहेलो रंगको प्लाष्टिकमा बेरी पोका पारी राखेको काठको बिड भएको अवैध कटुवा पेस्तोल बरामद भएको थियो । भदौ २४ गते झापा जिल्ला अदालतको आदेशले आङदेम्बे रु १० हजार धरौटीमा रिहा भएका छन् ।

घटना नं ७– अर्जुनधारा ८ बस्ने वर्ष १६ की युवतीलाई २०८१ भदौ ७ गते राति ८ः१५ बजे वडा नं ७ बस्ने १८ वर्षीय अनिस लिम्बू, सोही ठाउँ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगरले सामूहिक जबरजस्ती करणी गरेका थिए । त्यसपछि राति ११ बजे वडा नं ८ बस्ने २० वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुजन डाँगीले समेत जबरजस्ती करणी गरेका थिए । उक्त घटनामा संलग्न सबै प्रतिवादीहरुको खोजतलास गरी फरक फरक स्थानबाट भदौ ८ गते पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको छ । असोज ४ गतेको झापा जिल्ला अदालतको आदेशले सबै प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

घटना नं ८– २०८१ असोज ६ गते राति ११ बजे कन्काई वडा नं ८ स्थित बिरिङ पुलमा भारतीय नम्बर प्लेट युपी ५७ एटी ४४९३ भएको ट्रक र २०८१ असोज ७ गते बिहानको राति २ः४५ बजे पूर्वतर्फ आउँदै गरेको डब्लुबी –७३ ई ३०५६ नम्बरको ट्रक गिरीबन्धु टी इस्टेट अगाडी मोटरसाइकलमा सवार व्यक्तिहरुले पट्रोलको बोतलले हानी ट्रकमा आगो लगाएका थिए । घटनामा घाइतेमध्ये चालक पद रोयको असोज १९ गते सिलिगुडीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनामा संलग्न बिजय चौधरी, भिम लिम्बु तुम्बापो ,बलीहाङ लिम्बू, बिरबहादुर गुरुङ, विवस लिम्बू ,उदय लिम्बू, राजेश महत,रुद्र भुजेललाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया चलाइएको थियो । कात्तिक ६ गते झापा जिल्ला अदालतको आदेशले ती सबै प्रतिवादीहरु पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

घटना नं ९– २०८१ असार १५ गते राति ११ बजे बाह्रदशी वडा नं. ५ फुलबारी बस्ने राजेश हजाम हराइ बेपत्ता भएको घटनाको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न मुना मेचे राजवंशी,गुड्डु भन्ने राहुल राजवंशी,नरेश राजवंशी र समिर राजवंशीले धारिलो हतियारले हत्या गरी घरको भान्साघरमा पुरेको र पछि पुनः बिरिङ खोलामा लगी गाडेको तथ्य पत्ता लागेको थियो । घटनामा संलग्न मानिसहरुलाई असोज १९ गते पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया चलाइएको थियो । कात्तिक १४ गते झापा जिल्ला अदालतको आदेशले प्रतिवादी समिर राजवंशी र मुना मेचे राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका थिए । त्यस्तै कानूनको विवादमा परेका बालक नरेश राजवंशीलाई बाल सुधार गृह पठाइएको छ । मुख्य अभियुक्त गुड्डु भन्ने राहुल राजवंशीलाई मंसिर १० गते अदालतमा उपस्थित गराई अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

घटना नं १०– २०८१ भदौ २८ गते साँझ ६ः४० बजे अर्जुनधारा वडा नं. ६ महानन्द चौकमा कैलाली गौरीगंगा ३ बस्ने २० वर्षीय अनिल वि.कले इलाम सूर्योदय ३ बस्ने प्रेमिका १९ वर्षीया मनिषा लोहारलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका थिए । तत्काल प्रहरी परिचालन गरी वि.क.लाई पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको थियो । २०८१ असोज १६ गतेको झापा जिल्ला अदालतको आदेशले प्रतिवादी वि.क पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

टना नं ११– २०८१ असोज २८ गते दिउँसो ३ः५० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ३ कुम्बिडाँडा डाँडागाउँस्थित भरत कुमालको घरआँगनमा सोही ठाउँ बस्ने ४६ वर्षीय बिरबहादुर चौहानले आफ्नै श्रीमती मनकुमारी भुजेललाई मादक पदार्थ सेवन गरी धारिलो हतियार बामफोकले घाँटीमा हानी हत्या गरेका थिए । घरबाट ७ सय मिटर उत्तर बाँसघारीमा लुकेको अवस्थामा चौहानलाई पक्राउ गरी कानुनी कारवाहीको प्रक्रिया चलाइएको छ । २०८१ कात्तिक २७ गते जिल्ला अदालतको आदेशले प्रतिवादी चौहान पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

घटना नं १२– २०८१ मंसिर १ गते राति ९ः२० बजे बाह्रदशी ५ बस्ने मानकुमार राजवंशीले सोही ठाउँ बस्ने ४४ वर्षीय गंगालाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । घटनामा संलग्न राजवंशीलाई पक्राउ गरिएको थियो भने मंसिर १९ गतेको झापा जिल्ला अदालतको आदेशले उनी पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

डीएसपी विष्टको नेतृत्वमा लागूऔषध नियन्त्रणको अभियान संचालन गरिएको थियो । उनको कार्यकालमा ३६९ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर ,३५८ केजी २२८ ग्राम गाँजा, ट्रामाडोल क्याप्सुल–१०१७ , डाइजेपाम–५ क्याप्सुल, लोराजेपाम ३६१ ट्याब्लेट , कोलिबान–४२० ट्याब्लेट बरामद भएको थियो । लागूऔषधको कारोबारमा संलग्न १०८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा १०४ पुरुष र ४महिला रहेका छन् ।

उच्च जनघनत्व र शिक्षा, स्वास्थ्य , पर्यटन , यातायातको हब बनेको बिर्तामोडमा शान्ति सुरक्षा कायम गर्न केही चुनौती रहेपनि सबैको साथ र सहयोगबाट आफ्नो कार्यकालमा केही महत्वपूर्ण अनुसन्धानहरु भएको डीएसपी विष्टले बताए । उनले आफ्नो १४ महिने कार्यकाल सफल बनाउन हातेमालो गरेर सहयोग गर्ने नागरिक समाज , राजनीतिक दल , संचारकर्मी , विभिन्न संघ संस्थालाई हार्दिक धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्