बिर्तामोड, बैशाख १६ । सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक(एसपी) मिलन केसी र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्टलाई आज सम्मानसहित विदाई गरिएको छ ।

प्रहरी चौकी बिर्ताबजारले एक कार्यक्रमका बीच दुवैजनालाई सम्मानसहित विदाई गरेको हो । एसपी केसीले जिल्लाको र विष्टले बिर्तामोडको शान्ति सुरक्षा व्यवस्थापनमा दिएको योगदानको मूल्यांकन गर्दै दुवैलाई एउटै कार्यक्रममा सम्मानसहित विदाई गरिएको प्रहरी चौकी बिर्ताबजारका व्यवस्थापन समितिका अध्यक्ष विरन कोइरालाले बताए ।
प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष कोइरालाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकी , नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौलाले विदाई भएर जान लागेका एसपी केसी र डीएसपी विष्टको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ उन्नति प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा बोल्दै एसपी केसी र डीएसपी विष्टले शुरुका दिनमा झापामा आउँदा केही चुनौती रहेपनि सबैको साथ र सहयोगले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेको भन्दै सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रभात मास्केले स्वागत गरेको कार्यक्रमको संचालन मनोज घिमिरेले गरेका थिए ।
एसपी केसीको अपराध अनुसन्धान शाखा काठमाडौमा सरुवा भएको हो । केसीको ठाउँमा जिल्ला प्रहरी कार्यालय चितवनबाट राजन लिम्बू आउने भएका छन् । त्यस्तै बिर्तामोडका डीएसपी विष्टको नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्सालमा सरुवा भएको हो । उनको ठाउँमा विजय श्रेष्ठ आउने भएका छन् ।