झापा, बैशाख १७ । झापाको चारआलीमा भएको दुर्घटनामा शनिश्चरे गाविसका पूर्वउपाध्यक्ष टंकप्रसाद बरालको मृत्यु भएको छ ।

आज साँझ मेचीनगर नगरपालिका–१३ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा अर्जुनधारा नगरपालिका–१० निवासी बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे.८ प ६४९८ नम्बरको मोटरसाइकललाई प्रगति सामुदायिक वन नजिक ठक्कर दिँदा बराल गम्भीर घाइते भएका थिए । बराललाई तत्काल उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोड लगिएको थियो । तर अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
ट्रक चालक पाँचथर फिदिम नगरपालिका–११ का ३८ वर्षीय ठालुप्रसाद एक्तेन लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रण लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
सालिन र मिलनसार स्वभावका बराल सुखानी सहिद स्मृति प्रतिष्ठानका उपाध्यक्ष एवं सहिद स्मृति उद्यानका ब्यबस्थापन समिति सालबारीका अध्यक्ष हुन् । उनी सरस्वती बाल कल्याण माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शनिश्चरे माविका पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य, झापाका सहकारी अभियन्तासमेत हुन् ।