झापा, बैशाख १७ । झापा बाह्रदशीका एक फार्मेसी संचालकलाई प्रतिबन्धित औषधी बिक्री गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा न ५ फूलबारीमा रहेको बिक्रम बिकास मेडिकलकी संचालक सोही ठाउँ बस्ने ३९ वर्षीया बन्दना पोखरेल रहेकी छन् । सो फार्मेसी कचनकवल १ स्थित घेरावारी स्वास्थ्य चौकीका इन्चार्ज अहेव बिक्रम राजवंशीले संचालन गर्दै आएका छन् । पसलमा राजवंशीकी श्रीमती बन्दना पोखरेल बस्ने गरेकी थिइन् ।
हिजो साँझ ५ः३० बजे बिक्रम विकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली खटिएर खानतलासी गर्दा प्रतिवन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरु एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद भएको डीएसपी खगेन्द्र खड्काले बताए । मेडिकल संचालक बन्दना पोखरेललाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
त्यस फार्मेसीले लामो समयदेखि प्रतिबन्धित औषधि बिक्री गर्दै आएको थियो । आफूहरुले संझाई बुझाई गर्दा समेत अहेब राजवंशीले अटेर गरेको एक स्थानीय जनप्रतिनिधिले बताए ।